अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविर थप प्रभावकारी बन्दै गएको छ। आर्थिक रूपमा पिछडिएका विपन्न वर्ग र स्वास्थ्य अभावमा बाँचिरहेका समुदायसम्म शिक्षा सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविर थप प्रभावकारी बन्दै गइरहेको हो।
विगत चार महिनादेखि हप्तामा एक दिन मात्रै सञ्चालन हुँदै आइरहेको सो शिविर अब हप्ताको दुई दिन मंगलबार र शुक्रबार सञ्चालन गरिने भएको छ, जसले बिरामीहरूलाई सेवा लिन अझ सहजता प्रदान गरेको छ। साथै, बिरामीहरूमा रगतको अभाव नहोस् भनेर प्रत्येक महिनाको २७ तारिखमा TU
LIONS BLOOD BANKको प्रविधिक सहयोग र चु जी च्यारिटीको आयोजनामा रक्तदान अभियान गर्ने निर्णय समेत गरिएको छ। यसरी गरी चु जी च्यारिटी फाउण्डेसनले रक्तदान अभियानमा रक्तदान गरी सहयोग गर्नका लागि इच्छुक व्यक्तिहरूलाई आह्वान पनि गरेको छ। शिविरमा विशेषज्ञ डाक्टरहरूद्वारा उच्च रक्तचाप, नाक, कान, घाँटीको चेकजाँच, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा छालासम्बन्धी विभिन्न प्रकारका रोगहरूको निःशुल्क उपचार सहित स्वास्थ्य परामर्श प्रदान हुँदै आइरहेको कारण शिविरले प्रदान गरेको स्वास्थ्य सेवाप्रति बिरामीहरू निकै नै खुसी र सन्तुष्टि देखिन्छ। यस्तै, स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूको सहजताको लागि चेकजाँच पश्चात आवश्यक औषधीहरू फाउण्डेसनको कार्यालयबाटै वितरण गरिने व्यवस्था समेत मिलाइएको छ।
बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउण्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिक्षा अनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म स्वास्थ्य सेवा पुर्याउँदै आइरहेको छ। फाउण्डेसनले सामाजिक परोपकारी कार्य अन्तर्गत शिक्षा सहितको निःशुल्क स्वास्थ्य सेवा संगै मैत्री, करुणा र सद्भाव पनि प्रवाह गर्दै आइरहेको छ। आर्थिक रूपमा पिछडिएका वर्ग र स्वास्थ्य क्षेत्रमा पहुँचविहीन रहेका समुदायका मानिसहरूको जीवनस्तर उकास्नमा सहयोग पुग्ने उद्देश्यले सञ्चालन गरिएको शिविर असोज महिनाको पहिलो सातामा ३० औं हप्तामा प्रवेश गरेको छ।