बौद्धस्थित कानिङ सेडुबलिङ महाविहारमा सम्भोटा लिपिको प्राथमिक तथा माध्यमिक तहको शिक्षा कक्षा सञ्चालन भइरहेको छ। बौद्ध धर्म, दर्शन, साहित्य, संस्कृति, परम्परा एवं सम्भोटा लिपिको संरक्षण, संवर्द्धन र विकास गर्ने मुख्य उद्देश्यका साथ सो कक्षा सञ्चालन गरिएको हो।
भोट भाषामा सम्भोटा लिपिमा लेखिएका महत्वपूर्ण बौद्ध ग्रन्थहरू अध्ययन गर्न जिज्ञासुहरूलाई सहज होस् भन्ने हेतुले कानिङ सेडुबलिङ महाविहारले यो कक्षा सञ्चालन गरेको हो। सो कक्षामा विभिन्न उमेर समूहका देश तथा विदेशका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। महाविहारका शरणनायक क्याब्जे छोकी निमा रिन्पोछे ज्युको सद्दिक्षा अनुसार सञ्चालित कक्षामा बौद्ध शिक्षा तथा सम्भोटा लिपिको प्राथमिक र माध्यमिक तहको पठनपाठन भइरहेको छ। कक्षामा सहभागीहरूले सम्भोटा लिपिका व्यञ्जन वर्ण र स्वरवर्णहरूको उच्चारण विधि, लेखन तरिका, बौद्ध धर्मको प्रारम्भिक शिक्षाको व्याख्या, दैनिक पूजा विधिको लय अभ्यास, वाचन गर्ने तरिका, साथै आगम तथा उपदेशहरूको अध्यायन गरिरहेका छन्। सम्भोटा लिपि तिब्बत, नेपाल, भुटान, भारत, चीन, ताइवान, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा प्रयोग हुने लिपि हो।
बुद्ध धर्म, दर्शन, साहित्य, संस्कृति, परम्परा एवं सम्भोटा लिपिको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले बौद्धस्थित कानिङ सेडुबलिङ महाविहारमा यो कक्षा सञ्चालन गरिएको हो। विश्व शान्तिका लागि बौद्ध शिक्षा महत्वपूर्ण रहेको कारण, भगवान बुद्धका शिक्षाको पालनाबाट सबैको हित र राष्ट्रको समृद्धि हुने विश्वास लिइएको छ। यस कक्षामार्फत बौद्ध दर्शनलाई विश्वभर फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ।