काठमाडौं,
अनामनगर स्थित महाप्रज्ञा विहारमा ‘चित्त शुद्धिस् मनुष्य जीवनको सार’ नामक पुस्तक विमोचन गरिएको छ । बुधवार विहारको धम्मकक्षमा श्रद्धेय भिक्षु नागितसहित श्रद्धालुहरूको सहभागितामा लेखक एवम् बौद्ध उपासक शिशिल चित्रकारको ‘चित्त शुद्धिस् मनुष्य जीवनको सार’ नामक पुस्तक विमोचन गरिएको हो।
उपासक चित्रकारका दिवंगत पिता भक्तलाल चित्रकार र माता सुर्यमाया चित्रकारको गुणानुस्मरणमा आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु नागितद्वारा बुद्ध पूजा पनि गरिएको थियो। सो पुस्तकमा बुद्ध शिक्षा र जीवनमा उपयोगिता, नेपालमा जीवन पद्धति र धर्म, वर्तमान सामाजिक अवस्था—एक चित्रण, र उपसंहारलाई पाँच अध्यायमा विभाजन गरी विस्तृत व्याख्या गरिएको छ। ‘चित्त शुद्धिस् मनुष्य जीवनको सार’ पुस्तकले चित्त शुद्धिको महत्व, मानव जीवनको सार, र बौद्ध दृष्टिकोणबाट आत्मिक उन्नतिको मार्गबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ। सो पुस्तकले जनमानसमा बुद्ध धर्म फैलाउन मात्रै नभई साहित्यिक अभिव्यक्तिको माध्यमबाट आध्यात्मिक चेतनालाई पनि समृद्ध बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। लेखक शिशिल चित्रकारले देश विकासका लागि बुद्ध शिक्षा, ‘कुशलकार्य गर्न कठिन’, ‘अरूलाई होइन, आफैलाई जित्नु’ आदि विषयमा हालसम्म करिब आधा दर्जन पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ।