काठमाडौं,
नेपाल संवत ११४५ ञंलागा अष्टमीका दिन भृकुटीमण्डपस्थित बुद्ध विहारमा दिवङ्गत ञातिवन्धुहरूको सुगति सहित निर्वाणको कामना गर्दै परित्राण पाठ तथा संघभोजन दान गरिएको छ। सोमवार विहारको धम्मकक्षमा श्रद्धालु उपासक–उपासिकाहरूको सहभागितामा दिवङ्गत ञातिवन्धुहरू, हितैषी, जहान–परिवार तथा शुभचिन्तकहरूको गुणानुस्मरण गर्दै उहाँहरूको सुगति सहित निर्वाण प्राप्तिको कामनासहित सामूहिक परित्राण पाठको आयोजना गरिएको हो। कार्यक्रमको क्रममा श्रद्धेय भिक्षु कोण्डञ्य महास्थविरले धर्मदेशना दिने क्रममा बताउनुभयो कि मानिसको जीवन आफूले चाहेजस्तो वा सोचेको जस्तो हुँदैनस सबै इच्छा र कामना पूर्ण नहुने हुँदा जीवन परिवर्तनशील र अनित्य हो भन्ने बुझ्न जरुरी छ। त्यसैगरी, श्रद्धेय भिक्षु सुद्धिको बाट बुद्ध पूजा सम्पन्न गरियो। कार्यक्रमको अन्त्यमा सर्वसत्व प्राणीको पुण्य हेतुले पुण्यानुमोदन तथा दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो। बुद्ध धर्म, शिक्षा र दर्शनको प्रचार–प्रसारका लागि सो विहारमा समय–समयमा विशेष धार्मिक कार्यक्रमहरूको आयोजना भइरहेका छन्।