बुद्ध धर्म र बुद्ध दर्शनलाई विश्वभर फैलाउने पुण्य उद्देश्यका साथ बुद्ध पूजा, धर्म देशना एवम् ज्ञानमाला भजन कार्यक्रम आयोजना गरिएको छ। सोमवार श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको धर्मकीर्ति विहारमा, नेपाल संवत ११४५ को ञंलागा अष्टमीका दिन श्रद्धेय त्यागवती गुरुमांको नेतृत्वमा शील प्रदान, बुद्ध पूजा तथा जातक अट्ठकथा अन्तर्गत असङ्खेय जातक विषयमा धर्म देशना सम्पन्न भएको हो।
उक्त विहारमा भगवान् बुद्धका बुद्ध गुण, धर्म गुण र संघ गुण स्मरण गर्दै प्रत्येक महिनामा पाँच पटक विशेष रूपमा बुद्ध पूजा र धर्म देशना हुँदै आएको छ। धर्मकीर्ति विहारले बुद्ध धर्म, दर्शन र शिक्षाहरूलाई समाजमा फैलाउँदै विकृति र विसङ्गति अन्त्य गरी जनजीवन उकास्न केन्द्रित विभिन्न धार्मिक कार्यहरू गर्दै आइरहेको छ। यसबाट बुद्धकालीन शिक्षाहरू केवल त्यस समयको लागि मात्र नभई, अहिलेको सन्दर्भमा पनि उत्तिकै हितकारी र सान्दर्भिक रहेको स्पष्ट भएको छ। त्यसैगरी, अष्टमीकै अवसरमा श्रीघः स्थित श्रीघः विहारमा, श्रीघः ज्ञानमाला भजन खलःद्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको छ। बुद्ध धर्मलाई संगीतको माध्यमबाट प्रचार–प्रसार गर्ने उद्देश्यले सो विहारमा नियमित रूपमा ज्ञानमाला भजन कार्यक्रम हुँदै आएको हो।
बुद्ध धर्म, शिक्षा र दर्शनको विकाससँगै शान्ति र मानसिक आनन्द प्राप्तिका लागि सो विहारमा प्रत्येक महिनाको पाँच पटक ज्ञानमाला भजन प्रस्तुत हुँदै आएको छ। भजनको माध्यमबाट भगवान् बुद्धलाई स्मरण गर्ने, समुदायलाई एकीकृत गर्ने र बुद्ध धर्मप्रति आस्था वृद्धि गराउने उद्देश्य रहेको सो भजन खलःले जनाएको छ।