काठमाडौं,
भगवान् बुद्धले सम्यक सम्बोधिलाभ गर्नु भएको ४० औं वर्षमा देशना गर्नुभएको अति गम्भीर सूत्र अपरिमितार्थ सूत्र दुई छुट्टाछुट्टै स्थानमा वाचन गरिएको छ। सोमवार बुद्ध जन्मस्थल लुम्बिनीस्थित बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनको कार्यालयमा महायान बौद्ध परम्परा अनुसार सामूहिक रूपमा अपरिमितार्थ सूत्रको वाचन गरिएको हो। अपरिमितार्थ सूत्रमा एक बोधिसत्वले सम्यक तरिकाले गर्नुपर्ने चर्याको बारेमा विस्तृत व्याख्या गरिएको छ।
तीन अध्यायमा विभाजन गरिएको यस सूत्रमा पहिलो अध्यायमा कुशल धर्महरू, दोस्रो अध्यायमा धर्मको व्याख्या, र तेस्रो अध्यायमा दश पुण्यहरूलाई समेटिएको छ। यसैगरी, नेपालको पहिलो र अग्रणी बौद्ध टेलिभिजन बोधि टेलिभिजनको कार्यालयमा पनि बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनका स्वयंसेवकहरू सहित बोधि टेलिभिजनका कर्मचारीहरूद्वारा सामूहिक रूपमा अपरिमितार्थ सूत्रको तेस्रो अध्याय दश पुण्यहरू पाठ गरिएको छ। यो अतुलनीय अपरिमितार्थ महायान सूत्रमा अत्यन्तै भव्य र दिव्य शक्ति भएका कारण यसलाई गरिने सम्मान पनि अतुलनीय छ। यसले सबै साधारण प्राणीहरूलाई पनि आर्यफल लाभ गर्न, सधैँको लागि जीवन र मृत्युको चक्रबाट पार हुन तथा निर्वाण र सुखको अवस्थासम्म पुग्न समर्थ बनाउन सक्छ। त्यसकारण, यस सूत्रलाई अपरिमितार्थ सूत्र भनिन्छ।
तिब्बती चन्द्र पात्रो अनुसार हरेक महिनाको २४ औं दिन अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनका संस्थापक श्रद्धेय चङ्ग येन गुरु आमाको सदिच्छा अनुसार बुद्ध जन्मस्थल लुम्बिनी उद्यान परिसरमा अपरिमितार्थ सूत्र वाचन हुँदै आइरहेको भए पनि हालसालै देशमा सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गरी सोमवार बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनको कार्यालयमा पाठ गरिएको हो।