एक महिने चैत्य व्रत र पूजा कार्यक्रम सम्पन्न

img

काठमाडौं,
काठमाडौंको ऐतिहासिक एवं धार्मिक स्थल स्वयम्भू महाचैत्यमा गुँला पर्वको अवसरमा स्वयम्भू हारती माता तथा भगवान बुद्धसँग सम्बन्धित धर्मदेशना, एक महिने चैत्य व्रत र पूजा कार्यक्रम सम्पन्न भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा गुँला पर्वको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। स्वयम्भू महाचैत्यका पुजारी श्रद्धेय अशोक बुद्धाचार्यको मूल आचार्यत्वमा श्रद्धालु उपासिकाहरूले एक महिना व्रत बसेर चैत्य पूजा गरेका थिए। दिवंगत ञातिबन्धुहरू सुखावती भुवनमा वास गरून् भन्ने कामनासहित आफन्तहरूले एक महिनासम्म स्वयम्भू महाचैत्य परिसरमा सवा लाख चैत्य निर्माण गर्दै व्रत बस्ने परम्पराअनुसार करिब एक दर्जनभन्दा बढी उपासिकाहरूले नियमित रूपमा व्रत बसेका थिए। उक्त पूजा श्रद्धेय अशोक गुरुको नेतृत्वमा सम्पन्न भएको हो। श्रद्धेय गुरुले व्रतालुहरूलाई भगवान बुद्धसम्बन्धी विविध विषयमा धर्मदेशना प्रदान गर्नु भएको थियो। व्रतालुहरूले गुँला पर्व अवधिभर स्वयम्भू महाचैत्यसँगै रहेको हारती अजिमाको विशेष रूपमा पूजा गरेका थिए। विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक विशेषताले भरिएको गुँला पर्वको महत्वका कारण नेवाः समुदायमा गुँला पर्व तथा बौद्ध धर्म, संस्कृति र परम्परालाई एक अमूल्य धरोहरका रूपमा अत्यन्त उच्च स्थान दिइन्छ।