काठमाडौं,
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्व समापन भएको छ। यस पर्व अवधिभर विशेषगरी नेपालमण्डलका नेवाः बौद्ध समुदायका श्रद्धालुहरूले विभिन्न विहार, चैत्य र बहास् बहीहरूमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठसहित धर्मदेशना लगायत विविध धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। यसै क्रममा गुँला पर्व समापनको दिन नगरमण्डप श्री कीर्ति विहारमा वर्षावास विशेष धर्मदेशना कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय भिक्षु धर्मगुप्त महास्थविरबाट देशना गरिएको थियो। यसैगरी समापनको दिन ज्ञानमाला भजन खलबाट ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो। धर्मदेशना श्रवण गर्नका लागि श्रद्धालुहरूको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रमको अन्त्यमा सर्वसत्त्वप्राणी पुण्य हेतु पुण्यानुमोदन गरिनुका साथै दान–प्रदान गरेर कार्यक्रमको समापन गरिएको थियो।