ब्योम कुसुमा महाविहारमा आयोजित बोधिपुष्पाञ्जलि शृंखला सम्पन्न

img

काठमाडौं,
ब्योम कुसुमा महाविहार, विशालनगरमा शनिबार आयोजना हुँदै आएको बोधिपुष्पाञ्जलि प्रवचन कार्यक्रम सम्पन्न भएको छ। महाविहारमा प्रत्येक महिनाको पहिलो शनिवार बोधिपुष्पाञ्जलि शृङ्खला सञ्चालन हुँदै आएको छ।
यसैअनुसार भाद्र महिनाको पहिलो शनिवार आयोजना गरिएको कार्यक्रममा परम पूज्य गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे 'रत्नश्री' ले आफू छाम बस्दा मार्ग र सम्यक दृष्टिमा बोधिपुष्पाञ्जलि लेख्नुको मुख्य उद्देश्य र कारणबारे देशना दिनुभएको थियो। परम पूज्य रत्नश्री रिन्पोछेले देशना दिनुपूर्व कार्यक्रममा ब्योम कुसुमा महाविहारका प्रमुख आचार्य धर्मधर नारायण प्रसाद रिजालले बोधिपुष्पाञ्जलि शृङ्खला अन्तर्गत मिथकहरूको आध्यात्मिक उन्नतिमा मूल्यबारे प्रवचन दिनुभएको थियो। परम पूज्य गुरुपाद रत्नश्री २२ वर्ष लामो गुफाबासमा रहनु भएका बेला गुरुबाट आफ्ना शिष्यहरूका लागि लेखेर दिनुभएको गहन धर्मोपदेशहरू अहिले बोधिपुष्पाञ्जलि शृङ्खलाका रूपमा स्थापित हुन पुगेका छन्। 
हरेक महिनाको पहिलो शनिवार सञ्चालन हुँदै आएको बोधिपुष्पाञ्जलि शृङ्खला महायान बौद्ध परम्परामा अति प्रचलित पूर्व-अभ्यास “ङोन्ड्रो” जस्तै स्थापित भएको छ। यो शृङ्खलामा संघबन्धुहरूले सामूहिक रूपमा हिमाली बौद्ध परम्परा अनुसारका विभिन्न मोन्लामहरूको मूल संस्कृत संस्करण र नेपाली भाषामा अनुवाद गरिएको विभिन्न मोन्लामहरू पाठ गर्ने गर्दछन्।