काठमाडौं,
सप्तपुर महाविहार सुधार समितिको आयोजनामा सप्तपुर महाविहारमा लक्ष्य चैत्य बनाउने कार्यक्रम समापन भएको छ। गुँला पर्व अवधिभर सञ्चालन भएको कार्यक्रम गुँला पर्व समापन भएसँगै शनिवार लक्ष्य चैत्य बनाउने कार्य समापन भएको हो। लक्ष्य चैत्य बनाउने कार्यक्रम समापनको दिन, एक महिना अवधिभर चैत्य बनाउनु भएका श्रद्धालुहरूले व्रत बसी विधिवत रूपमा पूजा गर्नुभएको थियो। यसरी एक महिनासम्म निर्माण गरिएको चैत्यहरू यस वर्ष नुवाकोटमा निर्माणाधीन स्वयम्भू चैत्यमा १०८ चिवा निर्माण भइ रहेकोले सो बहीका संघ सदस्य दिवंगत प्रेम बहादुर शाक्य र दिवंगत नानी माया शाक्यको पुण्य स्मृतिमा शाक्य परिवारद्वारा एउटा चिवा पलिस्था गर्ने र पलिस्था हुने चिवालयको गर्भमा चैत्य राखिने भएको छ।
यस्तै अक्षयश्वर महाविहारमा रहेको चैत्य र खट्लमा रहेको चैत्यको गर्भमा राखिने भएको छ। सप्तपुर महाविहार सुधार समितिका अनुसार गुँला पर्वको अवसरमा लक्ष्य चैत्य बनाउने परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ। लक्ष्य चैत्य, नेवाः समुदायमा विशेष गरी ललितपुरमा प्रचलित एक ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परम्परा हो, जसलाई लुचिद्यो पनि भनिन्छ।“लुचि“ भनेको “लक्ष्य“ र “द्यो“ भनेको “चैत्य“ भन्ने बुझन सकिन्छ ।