काठमाडौं,
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्व विधिवत रूपमा आइतवार समापन भएको छ। यस पर्व अवधिभर विशेषगरी नेपाल मण्डलका नेवाः बौद्ध समुदायका श्रद्धालुहरूले विभिन्न विहारमा दीपंकर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरेका छन् भने यस अवसरमा विभिन्न विहार, चैत्य र बहाबहीहरूमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ सहित धर्मदेशना लगायत विविध धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको छ।
यसैक्रममा गुँला पर्व समापनको दिन ञंलाथ्व पारूका दिन श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको धर्मकिर्ति विहारमा श्रद्धेय गुरुमाँबाट दश पारमिताबारे देशना भएको छ। सो क्रममा श्रद्धेय गुरुमाँले दश पारमिता अन्तर्गत दान, शील, क्षान्ति, वीर्य लगायत पारमिताधर्म अभ्यास गर्नुपर्ने बताउनुभयो। यसैगरी भृकुटिमण्डप स्थित बुद्ध विहारमा पनि बुद्ध पूजा सहित धर्मदेशना भएको छ। श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको सो विहारमा गुँला पर्व विशेष धर्मदेशना कार्यक्रमको अन्तिम दिन विहारका आवासीय श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा गरिएको छ भने विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले शील प्रदान गर्नुभई उपासक उपासिकाहरूबीच बुद्धको अन्तिम उपदेश ‘अप्रमादी शिक्षाः’ बारे धर्मदेशना दिनुभएको छ। यस्तै गुँला पर्व विशेष धर्मदेशना समापनको दिन, एक महिना सम्म सञ्चालन भएको कार्यक्रममा सहयोग गर्नुहुने श्रद्धावान धर्मदाताहरू सहित विहारमा आइ धर्मश्रवण गर्नुका साथै बुद्ध धर्म, शिक्षा र दर्शनको प्रचार–प्रसार गर्नको लागि अमूल्य योगदान गर्नुहुने श्रद्धालुहरूलाई विहारका प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले खादा ओढाएर मायाको चिनो स्वरूप बुद्ध मूर्ति प्रदान गर्नुभएको थियो।
नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ। भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ। आज सम्पूर्ण विश्व नै विभिन्न वहानामा अशान्तिको छालमा मडारिएको अवस्थामा, यस पर्वको माध्यमबाट जगतमा शान्ति, सद्भाव र मैत्री भावको विकास भई सम्पूर्ण जीवन जगत र प्राणीलाई अथाह स्नेह जनाउनुहुने भगवान बुद्धका शिक्षाहरू सबैले बुझ्न आवश्यक रहेको छ।