पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकबाट बास्केट बनाउने सीप प्रशिक्षण सफलतापूर्वक सम्पन्न

img

काठमाडौं,
वातावरण संरक्षण र महिला सशक्तिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ प्लास्टिक अपसाइकलिङ सीप प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। फोहोरलाई मोहोरमा बदल्न सक्नु पर्दछ भन्ने भनाईको प्रमाणित गर्ने उद्देश्यले काठमाडौंमा पुनः प्रयोग गर्न नमिल्ने खेर गएको प्लास्टिकबाट बास्केट बनाउने सीप प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। 
श्री दिगुख्य मिसा पुचको आयोजना, इन्भाइरमेन्ट एण्ड क्लाइमेट एक्सन फाउन्डेसन हिकेफ ३६० को सहकार्य र अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनको प्राविधिक सहयोगमा काठमाडौंमा एकदिने सीप प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। शुक्रवार आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले यस किसिमका पहलहरूले वातावरणीय प्रदूषण रोक्न सहयोग पुग्ने बताउनुहुँदै प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै मन्त्री विकले “फोहोरलाई मोहोरमा बदल्न सकिन्छ भन्ने विश्वासलाई यो तालिमले पुष्टि गरेको” बताउनुहुँदै उहाँले यस कार्यमार्फत वातावरण संरक्षण र महिला सशक्तिकरणलाई एकै साथ अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा मलेसियाबाट आउनुभएका चु जी च्यारिटी फाउन्डेसनका स्वयंसेवकहरूले तालिममा सहभागीहरूलाई प्लास्टिकको वर्गीकरण, काटछाँट गरी झोला, बास्केट र अन्य उपहार सामग्रीहरू निर्माण गर्ने प्रक्रियाबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। यस्तै कार्यक्रममा आयोजक संघका तर्फबाट हिकेफका अध्यक्ष तथा चु जी का स्वयंसेवक महेश नकर्मी, श्री दिगुख्य गुठीका अध्यक्ष बैलोचन तुलाधरले यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गरी प्लास्टिक अपसाइकलिङ र महिला सशक्तिकरणका क्षेत्रहरूमा निरन्तरता दिने बताउनुभएको छ। 
फोहोर वस्तुहरूको पुनः प्रयोगमार्फत नेपाली महिलाहरूलाई सीपयुक्त तालिमहरू प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने र आयमूलक अवसरहरू सिर्जना गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनको मुख्य उद्देश्य भनेको नै पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्नु हो। फाउन्डेसनको प्राविधिक सहयोग रहेको यस कार्यक्रमको माध्यमले वातावरण संरक्षण तथा पुनः प्रयोगको महत्वबारे बुझ्ने र सिक्ने अवसर प्रदान गरेको छ।