श्रद्धेय अनुपमा गुरुमांको ७१औं जन्मदिनको अवसरमा अभिधर्म पाठ

img

काठमाडौं,
जयमंगल विहारका प्रमुख श्रद्धेय अनुपमा गुरुमांको ७१औं जन्मदिनको अवसरमा अभिधर्म पाठको आयोजना गरिएको छ। ललितपुरको सुन्धारा चंकिटोलस्थित जयमंगल विहारमा श्रद्धेय गुरुमांको सुस्वास्थ्य एवम् दीर्घायुको मंगलकामना गरी विभिन्न विहारहरूबाट पाल्नुभएका श्रद्धेय गुरुमाहरूबाट अभिधर्म पाठ गरिएको हो। 
सोमवार जयमंगल विहारको धम्मकक्षमा आयोजित कार्यक्रममा श्रद्धेय अनुपमा गुरुमांबाट दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरिएको थियो भने गुरुमांले बुद्ध, धर्म र संघको गुणस्मरण गर्दै बुद्धपूजा गर्नुभएको थियो। विभिन्न विहारका श्रद्धेय गुरुमाहरूको उपस्थिति रहेको कार्यक्रममा श्रद्धेय कुशुक गुरुमांबाट भगवान बुद्धले आफूलाई जन्म दिनु हुने आमा महामायादेवीलाई तावतिंस देवलोकमा देशना गर्नुभएका अभिधर्मको बारेमा धर्मदेशना गर्नुभएको थियो। धर्मदेशना पश्चात श्रद्धेय गुरुमाहरूबाट अभिधर्म पिटकमा समावेश धम्मसंगणीपाली, विभंगपाली, धातुकथापाली, यमकपाली सहित ७ वटा प्रकरणहरूको क्रमशः पाठ गरिएको थियो। अभिधर्म पाठ बुद्धशासनको रक्षा र विकासका लागि विशेष दिनहरूमा र महत्वपूर्ण अवसरहरूमा गरिने गरिन्छ। “सबैलाई सतमार्गमा अघि बढ्न चित्त शुद्ध हुनु आवश्यक हुन्छ, त्यसैले सकारात्मक सोचको भावना अभिधर्म पाठबाट उत्पन्न हुन्छ,” भन्दै गुरुमां अनुपमाले बौद्ध परम्परामा अभिधर्म पाठको विशेष महत्व रहेको बताउनुभयो।
अन्त्यमा सर्व सत्वप्राणीहरूको पुण्य हेतुले पुण्यानुमोदन तथा दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो। कार्यक्रममा उपस्थित गुरुमाहरू तथा उपासक–उपासिकाहरूले जन्मदिन मनाइरहनुभएका गुरुमांलाई सुस्वास्थ्य, निरोगी र दीर्घायु जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो। ७१औं जन्मदिन मनाइरहनुभएकी श्रद्धेय अनुपमा गुरुमांलाई बोधि टेलिभिजन परिवारले सुस्वास्थ्य, निरोगी तथा दीर्घायु जीवनको मंगलमैत्री कामना गर्दछ।