परम पूज्य गुरुवर रत्नश्रीको बाहुलीबाट अमिताभ बुद्धको अभिषेक प्रदान।

img

काठमाडौं,
परम पूज्य गुरुवर श्रद्धेय विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीको बाहुलीबाट अमिताभ बुद्धको अभिषेक प्रदान गरिएको छ। भगवान श्री अमिताभ बुद्ध अभिषेक आयोजक समितिको आयोजनामा काठमाडौंस्थित शान्ति निकुञ्ज माविमा शनिवार रत्नश्रीको बाहुलीबाट अमिताभ बुद्धको अभिषेक प्रदान गरिएको हो। अभिषेक प्रदान गर्नु पूर्व श्रद्धेय खेन्पो समन्तभद्रबाट अमिताभ बुद्धको अभिषेकको बारेमा प्रवचन भएको थियो।
अमिताभ बुद्धको अभिषेक प्राप्त गर्दा मन, वचन र कर्म शुद्ध हुन्छन् र पुण्य सञ्चय अत्यन्त तीव्र गतिमा बढ्दछ। यस्तै, जीवनमा शान्ति, स्थिरता, करुणा र सहनशीलता विकास हुन्छ भने मृत्यु पश्चात भगवानको पवित्र क्षेत्र सुखावती भूमिमा पुनर्जन्म प्राप्त गर्ने सम्भावना बढ्ने लगायतका आध्यात्मिक महत्त्व रहेको छ। कार्यक्रममा भगवान श्री अमिताभ बुद्ध अभिषेक आयोजक समिति परिवार, संघबन्धुहरू एवम् स्थानीय श्रद्धालुहरूद्वारा रिन्पोछे रत्नश्रीलाई स्थानीय परम्पराअनुसार बाजागाजा सहित स्वागत गरिएको थियो। अमिताभ बुद्धको अभिषेक प्रदान गर्नु पूर्व रिन्पोछे रत्नश्रीबाट त्रिशरणगमन र पंचशील प्रदान गरिएको थियो। रिन्पोछे रत्नश्रीले अमूल्य मानव जीवनको प्राप्तिपश्चात मृत्युलाई सहर्ष रूपमा स्वीकार गर्न सक्नुपर्ने र अमिताभ बुद्धको मन्त्र जप गर्ने जो कोही सत्वप्राणीहरू अमिताभ बुद्धको प्रणिधानको बलले सुखावती भुवनमा बास हुने बताउनुहुँदै अमिताभ बुद्धको अभिषेक प्रदान गर्नुभएको थियो।
अभिषेक प्रदान भइसकेपछि कार्यक्रममा श्रद्धावान उपासक–उपासिकाहरूबाट कृतज्ञता स्वरूप रिन्पोछेलाई मण्डला अर्पण गरिएको थियो। अन्त्यमा पुण्यपरिणामना सहित प्रसाद वितरण गरी कार्यक्रम समापन गरिएको थियो। धर्म अभ्यास भनेको केवल जीवनको शान्ति मात्र नभई, पुनर्जन्ममा बुद्धत्व प्राप्त गर्ने मार्ग पनि हो। यस्तो पुण्यदायी, करुणामयी र दिव्य समारोहको माध्यमबाट आफैं र अरूको हितमा विशेष योगदान पुग्ने छ।