काठमाडौं,
गुंला पर्वको अवसरमा प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यबाट श्री बसुन्धरा देवीको महिमा बारे धर्मदेशना र ज्ञानमाला भजन सङ्ग्रह विमोचन गरिएको छ। बज्रवीर महाकाल गुथि संरक्षण तथा टोल विकास समिति एवं श्री बसुन्धरा देवी व्रत र पूजा व्यवस्थापन समितिद्वारा शनिवार आयोजित कार्यक्रममा प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यबाट बसुन्धरा देवीको महिमा बारे धर्मदेशना भएर पद्मावती ज्ञानमाला म्ये मुना नामक ज्ञानमाला भजन सङ्ग्रह विमोचन गरिएको हो।
ललितपुर महानगरपालिकामा अवस्थित पद्मावती महाविहारमा आयोजित कार्यक्रममा प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यले बसुन्धरा देवी भनेको के हो र उहाँलाई पूज्नुको महत्वबारे देशना दिनुभयो। सो क्रममा उहाँले बसुन्धरा देवीलाई धन, द्रव्य र अन्नको देवीको रूपमा पूजिनुका साथै पृथ्वीमाताको रूपमा पनि चिनिने बताउनुभयो। नेपालको नेवाः बौद्ध समुदायमा बुद्धधर्म बज्रयान परम्परा अनुसार बौद्ध अनुयायीहरूले हरेक वर्ष भाद्र कृष्ण पक्ष तृतीयाका दिन बसुन्धरा देवीको व्रत बसेर पूजा गर्दै आइरहेका छन्। सोही बमोजिम यस वर्ष पद्मावती महाविहारले यही भाद्र २५ र २६ गते बसुन्धरा देवीको व्रत र पूजाको आयोजना गर्ने भएको छ। सोही कार्यक्रमको महत्व थप वृद्धि गर्ने उद्देश्यका साथ शनिवार बसुन्धरा देवीको महिमा बारे धर्मदेशना कार्यक्रमको आयोजना गरिएको हो।
यस्तै, सो कार्यक्रम भव्य रूपमा सञ्चालन गर्नको लागि पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बसुन्धरा देवी व्रत तथा पूजा केन्द्रीय मूल समारोह समिति ललितपुरलाई नगद रु एक लाख रुपैयाँ प्रदान गरिएको छ। यसरी धन, द्रव्य र अन्नको देवीको रूपमा पूजिने बसुन्धरा देवीको व्रत र पूजा कार्यक्रममा सहभागी भई पुण्य सञ्चय गर्नको लागि सम्पूर्ण श्रद्धालुहरूमा आयोजक समितिले आह्वान समेत गरेको छ।