अपरिमितार्थ सूत्र दुई छुट्टाछुट्टै स्थानमा वाचन।

img

काठमाडौं,
भगवान् बुद्धले सम्यक् सम्बोधि लाभ गर्नु भएको ४० औं वर्षमा देशना गर्नुभएको अति गम्भीर सूत्र अपरिमितार्थ सूत्र दुई छुट्टाछुट्टै स्थानमा वाचन गरिएको छ। आइतवार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा श्रद्धेय भिक्षु, श्रद्धेय लामाहरु, बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनका स्वयंसेवकहरु सहित श्रद्धालुहरूको उपस्थितिमा महायान बौद्ध परम्परा अनुसार सामूहिक रूपमा अपरिमितार्थ सूत्रको वाचन गरिएको हो। 
अपरिमितार्थ सूत्रमा एक बोधिसत्वले सम्यक् तरिकाले गर्नुपर्ने चर्याको बारेमा विस्तृत व्याख्या गरिएको छ। तीन अध्यायमा विभाजन गरिएको यस सूत्रमा पहिलो अध्यायमा कुशल धर्महरु, दोस्रो अध्यायमा धर्मको व्याख्या र तेस्रो अध्यायमा दश पुण्यहरुलाई समेटिएको छ। यसैक्रममा आइतवार लुम्बिनीमा अपरिमितार्थ सूत्रको पहिलो अध्याय कुशल धर्महरु वाचन गरिएको हो। यसैगरी, नेपालको पहिलो र अग्रणी बौद्ध टेलिभिजन बोधि टेलिभिजनको कार्यालयमा पनि बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनका स्वयंसेवकहरू सहित बोधि टेलिभिजनका कर्मचारीहरूद्वारा सामूहिक रूपमा अपरिमितार्थ सूत्र पाठ गरिएको छ। अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरु आमाको सदिच्छा अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा अपरिमितार्थ सूत्र वाचन गर्न थालिएको हो।
बुद्ध जन्मस्थल लुम्बिनीमा तिब्बती चन्द्र पात्रो अनुसार हरेक महिनाको २४ औं दिन सामूहिक रूपमा वाचन हुँदै आइरहेको अपरिमितार्थ सूत्रपाठ बोधि टेलिभिजनको कार्यालयमा पनि वाचन हुँदै आइरहेको छ। यसरी दुई छुट्टाछुट्टै स्थानमा वाचन गरिएको अपरिमितार्थ सूत्रको लयले वातावरणमा धार्मिक तरंग प्रवाह गरी मन्त्रमुग्ध बनाएको थियो।