४२ औं वज्रगुरु जप समापन।

img

काठमाडौं,
विश्वशान्ति एवम् समस्त सत्त्वप्राणीको सुखको कामना गरी मनाङ समाज गुम्बामा आयोजित ४२ औं वज्रगुरु जप समापन भएको छ । परमपुज्य गुरु सेरप ग्यालसेन रिन्पोछेको समुपस्थितिमा गत २२ गतेदेखि सञ्चालन भएको जप बिहीबार समापन भएको हो । मनाङ समाज सेवा समितिले विगत एकचालीस वर्षदेखि स्वयम्भू, किमडोल स्थित मनाङ समाज गुम्बामा वज्रगुरु जप साधना कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि ४२ औं वज्रगुरु जपको आयोजना गरिएको हो ।
समस्त सत्त्वप्राणीको हित सुख एवं विश्वशान्तिको कामना गरी कार्यक्रममा रिन्पोछे, लामागुरु, आनिहरू सहित मनाङ, हुम्ला, डोल्पा, रसुवा, सिन्धुपाल्चोक सहित हिमाली जिल्लाका हजारौं श्रद्धालुहरूको उपस्थितिमा २० करोड अर्थात दुई ढुङ्ग्यु जप संकलन भएको मनाङ समाज सेवा समितिले जनाएको छ । यस्तै विश्वशान्ति र सर्व सत्त्वप्राणीको हितको कामना गरी आगामी दिनहरूमा पनि वज्रगुरु जप कार्यक्रमको आयोजना गर्दै जाने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ । विगत चार दशकदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको वज्रगुरु जपले हिमाली बौद्ध संस्कृति परम्पराको विकास र विस्तार गर्नुका साथै श्रद्धालुहरूमा करुणा र एकताको भावना जागृत गर्नमा सहयोग पुग्ने विश्वास गरिएको छ ।