विश्व शान्तिको कामना गरी जिन्से होम।

img

काठमाडौं,
स्वयम्भू इचंगुस्थित दिक्चेन टासी छोलिङ गुम्बामा महाशान्ति जिन्से होम सम्पन्न स्वयम्भू इचंगुस्थित दिक्चेन टासी छोलिङ गुम्बामा सोमबार महाशान्ति जिन्से होम सम्पन्न गरिएको छ। संसारभर फैलिइरहेको द्वन्द्व, रोगव्याधि र विघ्न–वाधाहरूको शान्ति तथा समाधानका लागि श्रद्धेय लामा कर्मा टासीको प्रमुखत्वमा उक्त होम सम्पन्न गरिएको हो।
सो होममा प्रमुख रूपमा घिउ, कालो तिल, सर्ष्यू, चामल, जौ, कपुर, घिउमा बनेका दीप, सुगन्धित धूप–पुष्प, विशेष औषधीय जडीबुटी, फलफूल लगायत विविध प्रकारका अन्नहरू अर्पण गरिएको थियो। सो गुम्बामा सर्वसत्व प्राणीहरूको हित र कल्याणको कामना गर्दै तारा डोल्मा पूजा भइरहेको छ। यसै कार्यक्रमअन्तर्गत सोमबार तारा पूजा गरी महाशान्ति जिन्से होम गरिएको हो। सम्पूर्ण देवी–देवताहरूलाई स्मरण गर्दै विभिन्न पूजनीय सामग्रीहरू अग्निमा अर्पण गर्दा वातावरणमा उत्पन्न हुने नकारात्मक ऊर्जा नियन्त्रणमा आउने, समस्त सत्व प्राणीहरूको रक्षा भई संसारभर शान्ति फैलन सहयोग पुग्ने विश्वास गरिन्छ। गुम्बामा जारी तारा पूजा कार्यक्रमअनुसार आगामी शुक्रबार ‘बुमछोक गणचक्र पूजा’ तथा शनिबार ‘तारा डोल्मा पूजा’ समापन गरिने छ। सो धार्मिक कार्यक्रममा सहभागी भई पुण्य सञ्चय गर्न सम्पूर्ण श्रद्धालुहरूमा हार्दिक आह्वान गरिएको छ।