विशेषगरी नेवाः समुदायले गाईजात्राको भोलिपल्ट, अर्थात् भाद्रकृष्ण द्वितीयामा मनाउने मतयाः पर्व यस वर्ष सोमवार मनाइएको छ। गाईजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनैपर्छ भन्ने मान्यता रही आएको अनुसार मतयाः पर्व मनाइएको हो।
हरेक वर्ष गाईजात्राको भोलिपल्ट मतयाःमा ललितपुर महानगरपालिकाको, विशेषगरी पाटनका भित्री सहरमा रहेका विभिन्न बौद्ध स्तूप, बहाः, वही तथा चैत्यहरूको पूजा गरी मनाउने गरिन्छ। यसै क्रममा सोमवार ललितपुरमा रहेका १५ वटा महाविहार र १८ वटा विहारसहित चार स्तूपहरूको परिक्रमा गरी मतयाः पर्व मनाइएको छ। एक वर्षभित्र दिवंगत भएका आफ्ना आफन्तजनको सम्झनामा धान, चामल, पैसा लगायतका विभिन्न सामग्री दान दिँदै हातमा दीप लिएर मतयाः जाने गरिन्छ। यसरी हातमा पानस, मैनबत्ती बालेर यात्रा गरिने भएकाले यस यात्रालाई मतयाः भनिएको हो। पर्वका क्रममा साना बालबालिका तथा वयस्कलाई समेत आ–आफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ। सोही क्रममा विभिन्न टोलटोलमा रहेका बौद्ध सम्पदा, चैत्य तथा बहाः, वहीमा दीप प्रज्वलन गरिन्छ। यात्राका क्रममा सहभागी श्रद्धालुहरूलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा रहेको छ।
मतयाःको अर्को आकर्षण भनेको नौबाजाको प्रदर्शन पनि हो। मतयाःको रुटमा परम्परागत धाः न्येकु लगायतका नौ बाजा बजाएर जाने चलन अनुसार विभिन्न बाजा बजाइने गरिन्छ। मतयाः पर्व नेपाल मण्डल लगायत विभिन्न जिल्लाहरूमा पनि सञ्चालन गरिन्छ। पाटनमा मनाइने यो पर्वको रमाइलो हेर्न देश तथा विदेशका धेरै मानिसहरूको सहभागिता रहने गरेको छ।