काठमाडौं,
व्योमकुसुमा महाविहार विशालनगरमा श्रद्धेय खेन्पो समन्तभद्रद्वारा बोधिचर्यावतारको शिक्षण श्रृंखलाको दोस्रो हप्ता सम्पन्न भएको छ। परम पावन गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्री र श्रद्धेय गुरुमांको आशीर्वाद एवम् व्योमकुसुमा बुद्धधर्म संघको आयोजनामा श्रद्धेय खेन्पो समन्तभद्रद्वारा बोधिचर्यावतारको बारेमा शिक्षणको आयोजना गरिएको हो।
सो कार्यक्रममा केही हप्ता प्रारम्भिक शिक्षाबाट सुरु हुनेछ भने तत्पश्चात बोधिचर्यावतारको विस्तृत कक्षा निरन्तर रूपमा सञ्चालन हुनेछ। बोधिचर्यावतार महायान बौद्धपरम्पराको एक अत्यन्त प्रमुख ग्रन्थ हो। त्यसकारण बोधिचर्यावतारले करुणा र बुद्धचित्तलाई व्यवहारमा उतार्न मार्गदर्शन गर्नुका साथै दैनिक जीवनमा संयम, धैर्य र प्रज्ञा अभ्यास गर्न उत्प्रेरित गर्दछ। बोधिचर्यावतारले महायान बौद्ध मार्गमा करुणापूर्ण बोधिसत्त्व चेतना कसरी उठाउने र षट्पारमिताको अभ्यासद्वारा बुद्धत्व प्राप्त गर्ने भनेर सिकाउँदछ। श्रावण १७ गतेदेखि सुरु भएको शिक्षण कार्यक्रम बोधिपुष्पाञ्जलि हुने शनिवार बाहेक अरू दिन बिहान नौ बजेदेखि एघार बजेसम्म सञ्चालन हुनेछ। सो कार्यक्रममा संघबन्धु साधक एवम् बौद्ध शिक्षामा इच्छुक सबै श्रद्धालुहरू सहभागी हुन सक्ने व्योमकुसुमा बुद्धधर्म संघले जनाएको छ।