काठमाडौं,
नेवाः बौद्ध समुदायमा विशेष महत्वका साथ मनाइने गुँला पर्वको अवसरमा विहारहरूमा आयोजित धार्मिक अनुष्ठानहरू जारी छन्। यसै क्रममा काठमाडौंको भृकुटीमण्डपस्थित, श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा आयोजित गुँला पर्व विशेष धर्मदेशना कार्यक्रम जारी छ। पर्वको सोह्रौं दिन शनिवार, विहार प्रमुख श्रद्धेय भिक्षुद्वारा शील प्रदान गरिएको थियो भने “आफ्नो दीप स्वयं बनौं” भन्ने विषयमा धर्मदेशना दिइएको थियो।
विहारको धम्मकक्षमा आयोजित धार्मिक अनुष्ठानमा धर्मदेशनाअघि श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा गरिनुभएको थियो। यसैगरी कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा पनि पूर्णिमाको अवसरमा बुद्ध पूजा र धर्मदेशना कार्यक्रम सम्पन्न भयो। शनिवार विहारको धम्मकक्षमा आयोजित अनुष्ठानमा श्रद्धेय भिक्षु नन्द महास्थविरको प्रमुखतामा शील प्रदान, बुद्ध पूजा तथा वर्षावाससम्बन्धी देशना गरिएको थियो। त्यस अवसरमा विभिन्न स्थानका श्रद्धालुहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा श्रद्धेय भिक्षु तिस्स महास्थविरले छोटो ध्यान अभ्यास गराउनुका साथै ध्यानको महत्त्वबारे प्रशिक्षण दिनुभयो। त्यसपश्चात विहारकी आवासीय श्रद्धेय मिना गुरुमाँले धम्मगाथा वाचन गर्नुका साथै धर्मदेशना दिनुभयो। धर्मदेशना पश्चात दाता परिवारद्वारा भिक्षु संघलाई अष्टपस्कार दान अर्पण गरिएको थियो र अन्त्यमा सर्वसत्व प्राणीहरूको पुण्य हितका लागि पुण्यानुमोदन गरिँदै कार्यक्रम समापन गरिएको थियो। यसैगरी ऐतिहासिक स्वयम्भू महाचैत्यमा गुँला पर्वको अवसरमा एक महिने चैत्य व्रत र पूजा निरन्तर रूपमा सञ्चालन भइरहेको छ। सोही क्रममा श्रद्धावान उपासिकाहरूले चैत्यमा व्रत बसी पूजा गरिरहेका छन्।
गुँला पर्वको क्रममा हुने एक महिने पूजा महाचैत्यका पुजारी श्रद्धेय गुरु अशोक बुद्धाचार्यको मूलाचार्यत्वमा सञ्चालन भइरहेको छ। गुँला पर्व परापूर्वकालदेखि चलिआएको सांस्कृतिक तथा धार्मिक पर्व हो। यस पर्वमा सांस्कृतिक बाजागाजासहित स्तोत्र पाठ गर्दै बहा–बही र चैत्यहरूमा विशेष परिक्रमा गरिन्छ। यो पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य लगायत उपत्यकाका विभिन्न चैत्य स्थलहरूको दैनिक परिक्रमा गरिन्छ। गुँला पर्व नेवाः बौद्ध परम्परा र विधिअनुसार मनाइने विशेष पर्व हो।