श्रावण शुक्ल पूर्णिमाका दिन नेवाः बौद्ध धर्मावलम्बीहरूले विशेष धार्मिक अनुष्ठानको आयोजना गरी गुँलाथ्व पुन्हि मनाएका छन्। नेवाः समुदायले श्रावण शुक्ल पूर्णिमाका दिनलाई गुँपुन्हि पर्वको रूपमा मनाउँदै आएका छन्। सो अवसरमा गुँपुन्हिको दिन नौ थरि गेडागुडीको मिश्रणबाट बनेको परिकार क्वाँटी खाने चलन रहेकोले यस दिनलाई क्वाँटी पुन्हि पनि भनिन्छ। त्यस्तै, आजकै दिन नेवाः समुदायमा भूतप्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वासका साथ पञ्चतत्व (होम गर्दा हालिने तत्व) सहितको डोरो बाँध्ने परम्परा पनि रहेको छ।
साथै, नेवाः बौद्ध धर्मावलम्बीहरूले विशेष धर्मकर्मका साथ मनाउने गुँला पर्व पनि यसै समयमा जारी रहन्छ। नेपाल संवत् अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिनालाई गुँला (दशौं महिना) भनिन्छ। गुँला महिनामा पर्ने पूर्णिमाका कारण यस पर्वलाई नेवारी भाषामा गुँपुन्हि भन्ने गरिएको मान्यता छ। गुँला पर्वको अवसरमा नेवाः बौद्ध धर्मावलम्बीहरूले विभिन्न विहारहरूमा गई धर्मश्रवण गर्ने, स्तूप र बहा–बहिहरूको परिक्रमा गर्ने, दान गर्ने लगायत विविध धार्मिक अनुष्ठान आयोजना गर्दै आएका छन्। यसैक्रममा नेपाल संवत् ११४५ गुँलाथ्व पुन्हिका दिन श्रद्धेय धम्मवती गुरुमाँबाट छु गतिं वःपिंके छु पहः दै धैगुू विषयमा देशना दिइएको छ। गुँला पर्व अन्तर्गत विहारमा आयोजित धर्मदेशना कार्यक्रममा पूर्णिमाको दिन गुरुमाँले सो देशना दिनुभएको हो। श्रीघ विहारमा श्रीघ ज्ञानमाला भजनखलःद्वारा आयोजित ज्ञानमाला भजन निरन्तर जारी छ। यस भजनमार्फत भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्य लिइएको हो। साथै श्रीघ परिसरमा श्रद्धेय गुरुज्यूहरू र श्रद्धालुहरूद्वारा प्रत्येक बिहान नामसंगीति पाठ सञ्चालन भइरहेको छ। हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा र औंसीमा तथा गुँला महिनामा बहाः–बहीहरूमा दैनिक रूपमा नामसंगीति पाठ गर्ने परम्परा अनुरूप यो अभ्यास भइरहेको हो।
त्यस्तै, काठमाडौंको सानो भर्याङस्थित श्रद्धेय निर्मलञाणी विना गुरुमाँ प्रमुख रहनुभएको विहारमा पूर्णिमाको अवसरमा एक दिने ध्यान शिविर तथा बुद्ध पूजा सम्पन्न गरिएको छ। बुद्ध पूजापछि विहारको धम्मकक्षमा आयोजित कार्यक्रममा बर्मीज भिक्षु सयादो ऊ सुजन पियले शील प्रदान गर्नुका साथै बर्मीज भाषामा धर्मदेशना दिनुभयो। श्रद्धेय भिक्षुले दिनुभएको धर्मदेशनालाई श्रद्धेय निर्मलञाणी विना गुरुमाँले नेपालीमा अनुवाद गर्नुभएको थियो। श्रद्धावान उपासक–उपासिकाहरूको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रम धर्म पूजा, पुण्यानुमोदन र दान प्रदानसँगै सम्पन्न गरिएको थियो।