काठमाडौं,
परम पावन ४२ औं शाक्या ठ्रिचेन रत्नबज्र रिन्पोछेबाट शाक्या आनि गुम्बा, बज्रयोगिनी ध्यान केन्द्र छात्रावासको उद्घाटन भएको छ। काठमाडौं बौद्धस्थित भुवलडाँडामा नवनिर्मित बज्रयोगिनी ध्यान केन्द्र छात्रावास भवनका कक्षा कोठाहरूको शुक्रवार परम पावन ४२ औं शाक्या ठ्रिचेन रत्नबज्र रिन्पोछेले उद्घाटन गर्नुभएको हो।
सो अवसरमा श्रद्धेय रिन्पोछेले गुम्बामा अध्ययन गरिरहनु भएका उत्कृष्ट र जेहेनदार आनिहरूलाई प्रोत्साहनस्वरूप खादा र नगद पुरस्कार वितरण गर्नुभएको थियो। यसै अवसरमा श्रद्धेय रिन्पोछेले बुद्ध धर्म, शिक्षा र दर्शन अध्ययन गर्न तथा धार्मिक पर्यटन क्षेत्रको विकासमा समेत मद्दत पुग्ने उद्देश्यका साथ स्थापना गरिएको नवनिर्मित गुम्बाका कक्षा कोठाहरूको समेत अवलोकन गर्नुभएको थियो। उक्त गुम्बामा नेपालका विभिन्न हिमाली जिल्लाबाट आउनुभएका आनिहरूले विधिवत रूपमा गुम्बाको शिक्षा हासिल गर्नुहुनेछ। छात्रावासको उद्घाटन कार्यक्रममा रिन्पोछेबाट महाकाल पूजा पनि सम्पन्न गरिएको थियो।
आजभन्दा एक वर्षअघि परम पावन ४२ औं शाक्या ठ्रिचेन रत्नबज्र रिन्पोछेबाट महायान परम्पराअनुसार विभिन्न मोन्लाम पाठसहित भूमिपूजा गरी सो गुम्बाको शिलान्यास गरिएको थियो।