काठमाडौं,
बुद्ध शिक्षा र बौद्ध संस्कृतिमा आधारित रही अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा चुचिङ शिविरको आयोजना गरिएको छ।काठमाडौं बबरमहलस्थित फाउन्डेसनको कार्यालयमा ताइवान र नेपालको मानवीय सांस्कृतिक आदानप्रदान गर्ने मुख्य उद्देश्यका साथ शनिवार सो शिविरको आयोजना गरिएको हो। शिविरमा सहभागीहरूलाई कसरी पूर्ण शाकाहारी भोजन गर्ने, सामाजिक परोपकारी कार्यमा कसरी संलग्न हुने र बुद्ध शिक्षासहितको अनुशासित जीवनशैली कसरी अपनाउने लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।यसैगरी शिविरमा दुई देशको बौद्ध संस्कृति र परम्परालाई कसरी चिन्ने, श्रद्धेय चङ्येन गुरुआमाका शिक्षाहरूलाई कसरी अनुशरण गर्ने लगायतका विषयमा छलफल भएको छ। साथै, समुदायका मानिसहरूबीच सेवा, करुणा सहितको भावना कसरी विकास गर्ने भन्ने विषयमा पनि छलफल गरिएको छ।शनिवार आयोजित चुचिङ शिविर चु जी फाउन्डेसनका विभिन्न कार्यक्रमहरूमध्ये एक महत्वपूर्ण परिचयात्मक कार्यक्रम हो, जसको उद्देश्य सामाजिक सेवा भावना, करुणा, र दुई देशबीचको सांस्कृतिक क्षेत्रमा समझदारी विकास गर्नु रहेको छ।