देवदहमा शैक्षिक पूर्वाधार गर्नु अघि ८० अर्बको देवदह गुरुयोजना तयार।

img

काठमाडौं,
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई नमुना उच्च शिक्षाको केन्द्र बनाउने योजना अनुसार विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार गर्नु अघि ८० अर्बको देवदह गुरुयोजना तयार गरिएको छ। देवदहमा रहेको ९२ विघा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरू निर्माणका लागि विस्तृत गुरुयोजना तयार गरी सार्वजनिक गरिएको छ।
 यो गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौँ सभा बैठकले स्वीकृत गरेको थियो। लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यले स्वदेशी र विदेशी गरी २० हजार विद्यार्थीहरूले अध्ययन गर्ने गरी अहिले गुरुयोजना बनाई पूर्वाधार निर्माणको तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ। पूर्वाधार निर्माणका लागि नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोग तथा विदेशी दातृ निकायहरूसँग सहकार्य सम्झौता भइरहेको छ। ‘देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र चार हजार नेपाली विद्यार्थीले अध्ययन गर्नेछन्। विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा विश्वविद्यालयको टिम जुटेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा ९ वटा स्कुलमार्फत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ। त्यसका लागि आवश्यक पूर्वाधार विश्वविद्यालयले तयार गर्दैछ। देवदहमा तयार भएको गुरुयोजना अनुसार शैक्षिक भवनहरू, आध्यात्मिक अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्रहालय, पुस्तकालय, गेस्टहाउस र भिल्लासहितका संरचना बन्ने बताइएको छ।