विभिन्न स्थानका विहारहरूमा श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूबाट बुद्ध पूजा सहित धर्मदेशना।

img

काठमाडौं,
नेवाः बौद्ध परम्परा अनुसार नवौँ महिनामा पर्ने पुण्यको महिना गुँला पर्वको अवसरमा विभिन्न स्थानका विहारहरूमा श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूबाट बुद्ध पूजा सहित धर्मदेशना कार्यक्रम भइरहेको छ।
श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको धर्मकीर्ति विहारमा विहारका आवासीय श्रद्धेय क्षान्तिवती गुरुमाँको नेतृत्वमा बुद्ध पूजा सहित धर्मदेशना भएको छ। गुँला पर्व विशेष धर्मदेशना कार्यक्रम अन्तर्गत शुक्रवार श्रद्धेय गुरुमाँले पेटवत्थु बारे देशना दिनुभएको छ। यसैगरी भृकुटीमण्डपस्थित बुद्ध विहारमा भइरहेको गुँला धर्मदेशना कार्यक्रमको पन्ध्रौँ दिन विहारका आवासीय भिक्षु श्रद्धेय सुद्धिको बुद्ध पूजा भएको छ भने श्रद्धेय भिक्षु कोलित महास्थविरबाट शील प्रदान भएर दस धर्मचर्याले सुगतिमा पुर्‍याउँछ बारे देशना भएको छ। गुँला पर्व विशेष धर्मदेशनाकै क्रममा कीर्तिपुरमा रहेको नगरमण्डप श्रीकीर्ति विहारमा आयोजित वर्षावास विशेष धर्मदेशना जारी छ। नगरमण्डप श्रीकीर्ति विहार परिवारद्वारा आयोजित एक महिनाको वर्षावास विशेष धर्मदेशना कार्यक्रमको चौधौँ दिन श्रद्धेय भिक्षु पियरतनको नेतृत्वमा बुद्ध पूजा सहित धर्मदेशना भएको छ।
गुँला पर्व अवधिभर श्रद्धालु उपासक उपासिकाहरू विहारमा गएर धर्मदेशना श्रवण गर्ने, दान पारमिताको अभ्यास गर्ने प्रचलन रहेअनुसार विहारहरूमा श्रद्धालुहरूको चहलपहलमा वृद्धि भइरहेको छ।