स्वयम्भु महाचैत्यमा चैत्य व्रत, विहारहरूमा ज्ञानमाला भजन र विभिन्न स्थानका बहाः बहिहरूमा नामसंगीति पाठ।

img

काठमाडौं,
धर्म सञ्चय गर्ने महिनाका रूपमा लिइने गुँला पर्वको अवसरमा नेवाः बौद्ध धर्मावलम्बीहरूले एक महिनासम्म विभिन्न धार्मिक कार्यहरू गरी मनाउँदै आइरहेका छन्। पर्वको अवसरमा स्वयम्भु महाचैत्यमा चैत्य व्रत, विहारहरूमा ज्ञानमाला भजन र विभिन्न स्थानका बहाः बहिहरूमा नामसंगीति पाठ भइरहेको छ। यसैक्रममा काठमाडौंको ऐतिहासिक स्वयम्भू महाचैत्यमा गुँला पर्वको अवसरमा स्वयम्भु हारती माता तथा भगवान बुद्धसँग सम्बन्धित धर्मदेशनाका साथै एक महिनाको चैत्य व्रत र पूजा भइरहेको छ। 
स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा गुँला पर्वको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो। एक महिना सम्म हुने पूजामा स्वयम्भु महाचैत्यका पुजारी श्रद्धेय अशोक बुद्धाचार्यको मूलाचार्यतामा श्रद्धावान उपासिकाहरू व्रत बसी चैत्य पूजा भइरहेको छ। गुँला पर्वको समयमा स्वयम्भू महाचैत्य सहित बहाः बहिहरूको परिक्रमा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वासका कारण बौद्ध धर्मावलम्बीहरूले दिनहुँ बिहान सबेरै गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै विहार एवम् बहाः बहिहरूको परिक्रमा गरी ज्ञानमाला भजन सहित नामसंगीति पाठ गर्दै आइरहेका छन्। यसैक्रममा श्रीघ विहारमा आयोजित ज्ञानमाला भजन जारी छ। ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजनखलद्वारा ज्ञानमाला भजन प्रस्तुत भइरहेको छ।
गुँला पर्वका अवसरमा श्रद्धालु उपासक उपासिकाहरूले दशशील, अष्टशील र पञ्चशील पालना गरी आफ्नो क्षमता अनुसार भित्री मनदेखि दान दिने गर्दछन्। अरु समयमा पनि श्रद्धालु उपासक उपासिकाहरूको सहभागिता रहिरहने विहारहरूमा गुँला पर्वको अवसरमा आयोजित ज्ञानमाला भजन खलःको भजन, बुद्ध पूजा, धर्मदेशनाले त झनै रमाइलो बनाइरहेको छ। यतिमात्र नभई बाटोभरि गुँला बाजा बजाउँदै श्रद्धालु उपासक उपासिकाहरूले विभिन्न बहाः र बही परिक्रमा गरेर यो पर्व मनाइरहँदा एक किसिमले वातावरण नै रमणीय भइरहेको छ।