निःशुल्क स्वास्थ्य शिविर थप प्रभावकारी बन्दै।

img

काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर थप प्रभावकारी बन्दै गएको छ। फाउन्डेसनले काठमाडौं बबरमहल स्थित आफ्नै कार्यालयमा सञ्चालन आएको निःशुल्क स्वास्थ्य शिविरले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव बढाउँदै आइरहेको छ। श्रावण महिनाको चौथो हप्तामा २३ औँ हप्तामा प्रवेश गरेको सो शिविरबाट अहिलेसम्म दुई हजार भन्दा बढी विरामीले स्वास्थ्य लाभ लिइसकेका छन्। 
सो शिविरमा प्रत्येक हप्ता विशेषज्ञ डाक्टरहरूद्वारा उच्च रक्तचाप, नाक, कान घाँटीको चेकजाँच, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा छालासम्बन्धी विभिन्न रोगहरूको निःशुल्क उपचार सहित स्वास्थ्य परामर्श प्रदान हुँदै आइरहेको छ। आफूले दक्षता हासिल गरेका कुरा समाज सेवामा उपयोग गर्न पाउँदा खुसी लागेको र समाज सेवाको यो दौरानमा आफूले पनि धेरै कुरा सिक्ने अवसर पाएको डा। सुजन बोहोरा बताउनुहुन्छ। सो क्रममा फाउन्डेसनका स्वयंसेवकहरूले स्वास्थ्य शिविरमा बिरामी व्यवस्थापन, औषधि वितरण र चिकित्सक सहकार्यमा सराहनीय योगदान दिइरहेका छन्। स्वयंसेवकहरूको अनुशासन, संवेदनशीलता र सेवाभावले स्वास्थ्य शिविर अझ विश्वासिलो बन्दै गएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा निःशुल्क स्वास्थ्य शिविर मार्फत सेवा पुर्‍याउन पाएकोमा उत्साहित भएको ताइवानबाट नेपाल आउनुभएका फाउन्डेसनका स्वयंसेवकहरू बताउनुहुन्छ। निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सामाजिक परोपकारी सेवा भावना र करुणाको विकास भई समाजमा सकारात्मक सन्देश फैलाउन सहयोग पुग्ने उहाँहरूको भनाइ छ।
निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी रहेको र विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूको परामर्श सहित निःशुल्क औषधि वितरण कार्यले आफ्नो स्वास्थ्यमा सुधार हुँदै आएको शिविरमा सहभागी बताउनुहुन्छ। बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिच्छा अनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै आइरहेको छ।