काठमाडौं,
गुँला पर्वका अवसरमा विहार तथा चैत्यहरूमा श्रद्धेय भिक्षु, गुरुमाँ तथा गुरुज्यूबाट दिइने धर्मदेशनाका कारण श्रद्धालु उपासक उपासिकाहरूको चहलपहल बढिरहेको छ। नेवाः बौद्ध समुदायमा हर्षोल्लासपूर्वक मनाइने यस पर्वमा बजाइने बाजाका कारण अहिले नेपाल मण्डलका विभिन्न स्थानहरू गुञ्जायमान भइ रहेका छन्। जसका कारण अन्य समुदायका मानिसहरूलाई पनि बाजाको लय र धुनले मन्त्रमुग्ध बनाईरहेको छ। यसैक्रममा ऐतिहासिक स्वयम्भू महाचैत्यमा महाचैत्यका पुजारी श्रद्धेय गुरु अशोक बुद्धाचार्यको मूलाचार्यतामा गुँला पर्वको अवसरमा एक महिने चैत्य व्रत र पूजा भइ रहेको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा श्रद्धावान उपासिकाहरू चैत्यको व्रत बसेर पूजा गरिरहेका छन्। एक महिना सम्म हुने चैत्य व्रत र पूजामा सहभागीहरूलाई श्रद्धेय गुरु अशोक बुद्धाचार्यले दैनिक रूपमा भगवान बुद्ध र हारती अजिमाँको कथा देशना गरिरहनुभएको छ। गुँला पर्वको अवसरमा हरेक दिन बुद्ध शासनका फरक–फरक विषयमा देशनासहित श्रद्धेय गुरुमाँहरूबाट भइ रहेको बुद्ध पूजा, धर्मदेशनाले पर्वको रौनक बढाउनुका साथै बुद्ध धर्म, शिक्षा र दर्शन वृद्धि गर्नमा सहयोग पुगिरहेको छ।