पहिलो महिला गुँलाबाजा प्रदर्शनी कार्यक्रमको आयोजना गरिदैं।

img

काठमाडौं,
गुँला पर्वको अवसरमा न्हापांगु मिसा गुँला बाजं ब्वज्या अर्थात् पहिलो महिला गुँला बाजा प्रदर्शनी गरिने भएको छ। महिलालाई पनि सांस्कृतिक रूपमा अगाडि बढाउन र बौद्ध कला, संस्कृति र सम्पदाको संरक्षणका साथै संवर्द्धन गर्ने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको हो।  काठमाडौं महानगरपालिका वडा नं. १८ को संयोजकत्व र ञत तुलाधर समिति गुँला बाजं उपसमितिको व्यवस्थापनमा आयोजना हुन लागेको सो कार्यक्रमको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी विस्तृत रूपमा जानकारी प्रदान गरिएको हो। 
यस्तै कार्यक्रममा ञत तुलाधर समिति गुँला बाजा उपसमितिद्वारा प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमका नियमहरूबारे जानकारी प्रदान गर्ने क्रममा कार्यक्रममा अहिलेसम्म दुई सयभन्दा बढी महिलाहरूको नाम दर्ता भइसकेको जानकारी दिएको छ। गुँला महिनालाई नेवार बौद्ध समुदायले पवित्र महिना मान्दछ, जसमा बौद्ध धर्मग्रन्थहरूको पाठ र बौद्ध स्थलहरूमा गई गुँला बाजा बजाउँदै दर्शन गर्ने गरिन्छ। यसैगरी गुँला बाजा गुँला पर्वमा मात्र नभई शुभ कार्यहरूमा पनि बजाउने गरिन्छ। आगामी शनिवार आयोजना गर्न लागिएको कार्यक्रममा धाः बाजा, बाँसुरी बाजा, भुस्या, छुस्या, ताः, नायोखिं बाजा सहित विभिन्न प्रकारका बाजाहरू बजाइने आयोजक समितिले जनाएको छ।
हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु भएर एक महिनासम्म चल्ने पर्व गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहाः बहीहरूमा बौद्ध नेवाः समुदायले गुँला बाजा बजाउँदै चैत्य परिक्रमा गर्छन्। गुँला अवधिमा बढी वर्षा भई बाढीपहिरो, भूक्षय, अतिवृष्टि, रोगव्याधी फैलिने भएकाले सबैको कल्याण होस्, कसैलाई रोगव्याधी नलागोस्, दुःख–कष्ट नहोस्, भूक्षय, बाढीपहिरोबाट जनधनको क्षति नहोस् भन्ने शुभकामनासहित बजाउने गुँला बाजाको सदुपयोग गर्न आवश्यक रहेको छ।