काठमाडौं,
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्व, भगवान बुद्धप्रति आस्था प्रकट गरी बुद्धधर्ममा भक्तिभाव झल्काउने किसिमका कुशल कर्महरूको आयोजना गरी मनाइने गरिएको छ। यसैक्रममा श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा आयोजित गुँला पर्व विशेष धर्मदेशना जारी छ।
कार्यक्रमको चौधौं दिन विहारको धम्मकक्षमा विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ। विभिन्न स्थानका श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोबाट सामूहिक बुद्ध पूजा भएको थियो भने श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान गरिएको थियो। शील लगत्तै श्रद्धेय भिक्षु पियदस्सीबाट देशना गरिएको थियो। यस्तै गुँला पर्वको अवसरमा कीर्तिपुरमा रहेको नगरमण्डप श्रीकीर्ति विहार परिवारद्वारा आयोजना गरिएको एक महिने वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ। सो कार्यक्रमको तेह्रौं दिन बुधवार श्रद्धेय भिक्षु शान्त सिद्धार्थबाट शील प्रदानका साथै बुद्ध पूजा भएर झूटो नबोल्ने, क्रोध नगर्ने र दान दिने मान्छे स्वर्गमा जान्छ भन्नेबारे देशना गरिएको छ।
नेवाः समुदायमा पवित्र पर्वका रूपमा परिचित गुँला पर्वको अवसरमा हरेक दिन बिहानको झिसमिसेमै कतिपय उपासक उपासिकाहरू विभिन्न वाजागाजाका साथमा चैत्य एवं बहाः बहिहरूमा पुग्ने गरेका छन् भने कतिपय धर्म श्रवण गर्नको लागि विहारहरूमा पुग्ने गरेका छन्। सोही उपासक उपासिकाहरूलाई लक्षित गरी श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूले भगवान बुद्धसँग सम्बन्धित विभिन्न विषयमा धर्मदेशना दिइरहनुभएको छ।