गुँला पर्वको रौनकता कायमैं।

img

काठमाडौं,
नेवाः समुदायमा विशेष महत्वले भरिएको गुँला पर्व नेवाः बौद्ध समुदायका श्रद्धालु उपासक उपासिकाहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइरहेका छन् । यसैक्रममा श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा आयोजित गुँला पर्व विशेष धर्मदेशना जारी छ । 
कार्यक्रमको तेहौँ दिन विहारको धम्मकक्षमा विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । विभिन्न स्थानका श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोज्यूबाट सामूहिक बुद्ध पूजा भएको थियो भने श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान भएको थियो । शीललगत्तै श्रद्धेय भिक्षु बुद्धदत्तबाट “वैरभावले वैरभाव शान्त हुँदैन, रिसले रिस चढ्छ, मुस्कानले झर्छ” भन्ने विषयमा देशना भएको थियो ।  यस्तै गुँला पर्वको अवसरमा कीर्तिपुरमा रहेको नगरमण्डप श्रीकीर्ति विहार परिवारद्वारा आयोजना गरिएको एक महिने वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ । सो कार्यक्रमको आठौँ दिन मंगलवार श्रद्धेय केशवती गुरुमांबाट शील प्रदान, बुद्ध पूजा तथा दानको महत्वबारे देशना भएको छ । नेवाः समुदायमा पवित्र पर्वका रूपमा परिचित गुँला पर्वको अवसरमा हरेक दिन विहानको झिसमिसे उज्यालोमै कतिपय उपासक उपासिकाहरू विभिन्न बाजागाजासहित चैत्य एवं बहाःबहिहरुमा पुग्ने गरेका छन् भने कतिपय धर्म श्रवण गर्नका लागि विहारहरूमा पुग्ने गरेका छन् । 
सोही उपासक उपासिकाहरूलाई लक्षित गरी श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमांहरूले भगवान बुद्धसँग सम्बन्धित विभिन्न विषयमा धर्मदेशना दिइरहनुभएको छ । सो धार्मिक अनुष्ठानमा सहभागी हुनका लागि श्रद्धालु उपासक उपासिकाहरूको उल्लेख्य सहभागिता रहने गरेको छ ।