काठमाडौं,
नेपाल संवत ११४५ गुँलाथ्व द्वादशीका दिन धर्मकीर्ति विहारमा श्रद्धेय केशवती गुरुमांद्वारा धम्मपद अट्ठकथा अन्तर्गत धम्मिक स्थविरबारे देशना भएको छ । श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको सो विहारमा गुँला पर्व विशेष धार्मिक अनुष्ठानको आयोजना हुँदै आइरहेको छ । यसैक्रममा बुधवार श्रद्धेय गुरुमांले शील प्रदानका साथै बुद्ध पूजा गर्नुभई धम्मिक स्थविरबारे देशना दिनुभएको हो ।
यस्तै गुँला पर्वको अवसरमा विभिन्न स्थानमा रहेका विहारहरूमा आयोजित ज्ञानमाला भजन नामसंगीति पाठ जारी छ । यसैक्रममा श्रीघ विहारमा ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजनखलद्वारा ज्ञानमाला भजन प्रस्तुत भइरहेको छ । यस्तै श्रीघ परिसरसहित रत्नमण्डल महाविहारमा श्रद्धेय गुरुजुहरूसहित श्रद्धालुहरूद्वारा प्रत्येक विहान नामसंगीति पाठ भइरहेको छ । नेपालमण्डलमा प्रचलित आर्य नामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रूपमा रहेको छ । त्यसकारण हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशीको अवसरमा र गुँला महिनामा भने प्रत्येक बहाः, बहिहरूमा दिनहुँजसो नामसंगीति पाठ गर्ने प्रचलन अनुरूप नामसंगीति पाठ गरिएको हो ।
एक हजार वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा उपत्यकाभित्र पाठ गर्दै आइरहेको ‘नामसंगीति’ बोधिसत्वहरूले गर्ने एक प्रमुख चर्याको रूपमा रहेको कारण यसलाई बुद्धत्व प्राप्तिको हेतु रूपमा लिने गरिन्छ ।