काठमाडौं,
नेवाः बौद्ध समुदायमा विविध धार्मिक अनुष्ठानहरूको आयोजना गरी मनाइने गुँला पर्वको माध्यमबाट भगवान बुद्धका शिक्षालाई जनमानसमा फैलाउन सहयोग पुगेको श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले बताउनुभएको छ । बुद्ध विहारमा आयोजित गुँला धर्मदेशना कार्यक्रममा श्रद्धेय भिक्षुले लिच्छवीकालीन राजा हर्षदेवको समयदेखि आजसम्म नेवाः बौद्ध समुदायमा दशबल तथागत शास्ताको गुणस्मरण गरी विविध धार्मिक अनुष्ठान आयोजना हुँदै आइरहेको जानकारी दिनुहुँदै श्रद्धेय भिक्षुले गुँला पर्वको माध्यमबाट भगवान बुद्धका शिक्षा मैत्री, करुणा, मुदिता र उपेक्षा जनमानसमा फैलाउन सहयोग पुगेको बताउनुभएको हो । यस्तै श्रद्धेय भिक्षुले गुँला पर्वले बुद्ध धर्मप्रतिको आस्थालाई सुदृढ बनाउने मात्र नभएर हाम्रो मनमा आध्यात्मिक चेतना विकास गर्ने अवसर पनि प्रदान गर्ने बताउनुभयो ।
गुँला पर्वलाई दानमय, पुण्यमय, र साधनामय कार्यलाई निरन्तरता दिने महिनाको रूपमा लिइने भएका कारण यस महिनामा गरिने दान परम्परा र अभ्यासले व्यक्तिमा करुणा र परोपकारको भावना जागृत गर्नमा समेत सहयोग पुग्ने बताउनुभयो । यसैगरी श्रद्धेय भिक्षुले गुँला महिनाभरि स्वयम्भू महाचैत्य, स्तूप, विहारहरू सहित भगवान बुद्धसँग सम्बन्धित स्थानहरूमा गरिने बौद्ध स्तोत्र, बुद्धपूजा, धर्मदेशनाहरूले बौद्ध मूल्य–मान्यताहरूलाई निरन्तरता दिनुका साथै समुदायभित्र सद्भाव र करुणाको संस्कार प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।