विश्व शान्तिको कामना एक दिवसीय महापरित्राण पाठ ।

img

काठमाडौं,
ऐतिहासिक स्थान स्वयम्भू परिसरमा अवस्थित आनन्दकुटि विहारमा विश्व शान्तिको कामना गरी एक दिवसीय महापरित्राण पाठको आयोजना गरिएको छ। विश्व शान्तिको कामना गरी गुंला पर्वको अवसरमा मंगलवार बौद्ध उपासक मदन बहादुर नकर्मी सपरिवारद्वारा भिक्षु महासंघलाई आमन्त्रण गरी महापरित्राण पाठको आयोजना गरिएको हो। 
महापरित्राण पाठको माध्यमबाट सम्पूर्ण प्राणी जगतमा शान्ति, सुख र समृद्धि ल्याओस् भन्ने अभिलाषा सहित समाजमा सकारात्मक ऊर्जा र आध्यात्मिक एकताको सन्देश फैलाउन सहयोग पुगोस् भन्ने हेतुले सो कार्यक्रमको आयोजना गरिएको हो। अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर सहित विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरूको उपस्थिती रहेको कार्यक्रममा भिक्षुसंघबाट शील प्रदानका साथै बुद्ध पूजा भएर महापरित्राणको अर्थ र महत्वबारे देशना भएको थियो। देशना लगत्तै भिक्षुहरूबाट सामूहिक पाठका साथै युगल पाठ भएको थियो। महापरित्राण पाठ गर्नाले चारै तिरबाट आउने भय, अन्तराय तथा कठिनाइहरू नष्ट भएर जाने विश्वास रहेको छ। महापरित्राणमा मानव जीवन उन्नति हुने कारणहरू रहेका मंगल सूत्र, भय, अन्तराय हटाउने उद्देश्यले पाठ गर्ने रत्न सूत्र, र सकारात्मक सोच वृद्धि हुने मैत्री सूत्र लगायत सूत्रहरू रहेका छन्। 
लोकहितको कामना गरी शुद्ध चित्तले पाठ गर्ने र श्रवण गर्नाले ठूलो पुण्य मिल्ने विश्वास रहेको छ। यस्तै आनन्दकुटि विहारमा आयोजित गुंला पर्व विशेष धर्मदेशना पनि जारी छ, यसैबीच विहारको धम्मकक्षमा एक दिवसीय महापरित्राण पाठको आयोजना गरिएको हो। महापरित्राण पाठको माध्यमबाट समुदायमा शान्ति र एकतालाई प्रोत्साहित गर्दै नेपालको बौद्ध परम्परालाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने छ।