काठमाडौं,
धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थान स्वयम्भु महाचैत्य परिसरमा बुद्धवचन संग्रहित त्रिपिटक अन्तर्गत अभिधम्मपिटकको अन्तिम ग्रन्थ पठ्ठानपाळि वाचन गरिएको छ। धम्मवती धम्म प्रशिक्षणद्वारा शनिबार स्वयम्भु महाचैत्य परिसरमा शासनध्वज धम्माचारिय अग्गमहागन्थवाचक पण्डित भाषाथुवाः धर्मकिर्ति विहारका प्रमुख श्रद्धेया धम्मवती गुरुआमाको ९२ औं शुभजन्मोत्सवको उपलक्ष्यमा पठ्ठानपाळि वाचन कार्यक्रम गरिएको हो।
अभिधम्मपिटकलाई बचाउनका लागि श्रद्धेया धम्मवती गुरुआमाले पुर्याइरहनुभएको योगदानको सम्मान गर्दै अभिधम्मपिटकलाई लोप हुन नदिनका लागि धम्मवती धम्म प्रशिक्षणद्वारा सामूहिक रूपमा पठ्ठानपाळि ग्रन्थ वाचन कार्यक्रमको आयोजना गरिएको हो। अभिधम्मपिटकमा समावेश भएका सात महत्वपूर्ण ग्रन्थहरूमध्ये एक महत्वपूर्ण ग्रन्थ पठ्ठानपाळि हो। पठ्ठानमा ‘प’ को अर्थ विभिन्न प्रकार र ‘ठ्ठान’ को अर्थ प्रत्यय ९कारण० भन्ने रहेको छ। विभिन्न प्रकारका प्रत्ययशक्ति र शक्ति भएका प्रत्ययहरू देखाइएको ग्रन्थलाई नै पठ्ठान भनिन्छ। यस पाठमा २४ प्रकारका हेतु र प्रत्ययहरूको सूक्ष्म विश्लेषण गरिएको छ।
श्रद्धेया धम्मवती गुरुआमाका शिष्यहरूलाई सक्षम बनाउने र उपासक–उपासिकाहरूलाई बुद्ध शिक्षा सम्बन्धी तालिमहरू प्रदान गरी बुद्ध धर्म र बुद्ध शिक्षाको विकासमा जागरुक र सक्रिय बनाउने धम्मवती धम्म प्रशिक्षणको लक्ष्य रहेको छ। कार्यक्रममा श्रद्धेया गुरुआमाहरू, बौद्ध विद्वान् डा। रीना बनियाँ तुलाधर, सह–प्राध्यापक मदनरत्न मानन्धर सहित धम्मवती धम्म प्रशिक्षणका पदाधिकारीहरू लगायत श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो।