काठमाडौं,
बुद्ध, एवम् बोधिसत्त्वलाई समर्पित गरी धर्म अभ्यास गर्ने पवित्र महिनाको रूपमा लिइने गुँला पर्वको अवसरमा नामसंगीति प्रज्ञापारमिता पाठ, गुँला पर्व विशेष धर्मदेशना लगायतका विविध धार्मिक अनुष्ठानहरू हुँदै आइरहेका छन् । यसैक्रममा श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको धर्मकिर्ति विहारमा श्रद्धेय इन्दावती गुरुमांद्वारा शील प्रदानका साथै बुद्ध पूजा भएर पेत्तवत्थु अन्तर्गत कुमार प्रेतबारे धर्मदेशना भएको थियो ।
यसैगरी गुँला पर्वको नवौं दिन भृकुटीमण्डपस्थित श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा पनि बुद्ध पूजा सहित विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । शनिवार आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा भएको थियो भने श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान भएको थियो । विभिन्न स्थानका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा श्रद्धेय भिक्षु भद्दिय महास्थविरबाट मैत्रीले मात्रै द्वेषको अन्त्य गर्न सकिन्छ भन्ने विषयमा देशना भएको थियो । यसैगरी नगरमण्डपस्थित श्रीकिर्ति विहारमा आयोजित वर्षावास विशेष धर्मदेशना जारी छ । नगरमण्डप विहार परिवारद्वारा आयोजित वर्षावास विशेष धर्मदेशना कार्यक्रम अन्तर्गत शुक्रवार शाक्यमुनि किर्ति विहारका श्रद्धेय पञ्ञावती गुरुमांद्वारा समथाभावनाको महत्वबारे देशना भएको थियो । यसैगरी गुँला पर्वको अवसरमा श्रीघ विहारमा आयोजित ज्ञानमाला भजन जारी छ । ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजनखलद्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको हो ।
यस्तै श्रीघ परिसरमा श्रद्धेय गुरुजुहरू सहित श्रद्धालुहरूद्वारा प्रत्येक बिहान नामसंगीति पाठ भैरहेको छ । नेपाल मण्डलमा प्रचलित आर्य नामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रूपमा रहेको छ । त्यसकारण हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशीको अवसरमा र गुँला महिनामा भने प्रत्येक बहाः बहिहरूमा दिनहुँ जसो नामसंगीति पाठ गर्ने प्रचलनअनुसार नामसंगीति पाठ गरिएको हो । एक हजार वर्षभन्दा अगाडि देखि निरन्तर रूपमा उपत्यका भित्र पाठ गर्दै आइरहेको ‘नामसंगीति’ बोधिसत्त्वहरूले गर्ने एक प्रमुख चर्याको रूपमा रहेको कारण यसलाई बुद्धत्वप्राप्तिको हेतु रूपमा लिने गरिन्छ ।