हिमाली बौद्ध परम्परामा दोस्रो बुद्धका रूपमा चिनिने आचार्य पद्मसंभव (गुरु रिन्पोछे)को जन्मदिवसको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गरिदैं ।

img

काठमाडौं,
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा हिमाली बौद्ध परम्परामा दोस्रो बुद्धका रूपमा चिनिने आचार्य पद्मसंभव गुरु रिन्पोछेको जन्मदिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आगामी सोमवार संस्कृति पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेको समुपस्थितिमा सो कार्यक्रमको आयोजना गर्न लागिएको समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । 
हिमाली बौद्ध परम्परामा दोस्रो बुद्धका रूपमा चिनिने आचार्य पद्मसंभव गुरु रिन्पोछे बौद्ध महाचैत्यसँग प्रत्यक्ष रूपमा जोडिनुभएको छ । त्यसकारण आचार्य पद्मसंभव गुरु रिन्पोछेको पहिलो जन्ममा उहाँ लगायतका दाजुभाइहरूले निर्माण गर्नुभएको बौद्ध महाचैत्यको परिसरमा उहाँ अर्थात् आचार्य पद्मसंभव गुरु रिन्पोछेको जन्मदिवस छेच्युको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । सो कार्यक्रम अन्तर्गत महाँकालस्थित गुरु रिन्पोछेको प्रतिमा भएको स्थलमा आचार्य थुप्तेनको अगुवाइमा, तिनचुलीस्थित गुरु रिन्पोछेको प्रतिमा भएको स्थलमा श्रद्धेय खेन्पो सर्वजित गोन्बोको अगुवाइमा, र बौद्धस्थित घ्योइलिसाङ पोखरी अर्थात गुरु रिन्पोछे पार्कमा सेछेन गुम्बाका लामागुरुहरूबाट पूजा–पाठ हुने कार्यतालिका रहेको छ । पूजा–पाठ पश्चात तिनचुलीबाट गुरु रिन्पोछेको प्रतिमा सहित शोभायात्रा गरी बौद्ध महाचैत्य परिक्रमा गरि बौद्ध प्राङ्गणमा गुरु रिन्पोछेको अष्टलीला अर्थात गुरु छेङ्गे छ्याम सेछेन गुम्बाका लामाहरूबाट प्रदर्शन गरी साँझमा दीपप्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई व्यवस्थित गर्नका लागि शान्ति सुरक्षा उपसमिति, स्वयंसेवक उपसमिति, शोभायात्रा व्यवस्थापन समिति, सरसफाइ उपसमिति, सजावट समिति, गुरु छेङ्गे छ्याम उपसमिति लगायत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । 
यस्तै बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा आगामी मंगलवार महाँकाल जात्राको आयोजना गरिने भएको छ । हिमाली वज्रयान तथा महायान बौद्ध परम्पराका अनुयायीहरूले अत्यन्त श्रद्धाभावका साथ महाँकाललाई पूजा गरिने गरिन्छ । महाँकाल विभिन्न स्थानहरूमा विराजमान हुनुहुन्छ । वज्रयान महाविहारहरूको प्रवेशद्वारमा महाँकाल संरक्षक र धर्मपालका रूपमा राखिएका हुन्छन् । त्यसकारण महाँकाललाई शत्रुहरू पराजित गरी विजय प्राप्त गर्न सहयोगीका रूपमा मानिन्छ भने बुद्ध, धर्म र सङ्घको संरक्षकका रूपमा पनि मानिन्छ ।