काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविर अब हप्ताको दुई पटक सञ्चालन हुने भएको छ । फाउन्डेसनले काठमाडौं बबरमहल स्थित आफ्नै कार्यालयमा सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविर अब हप्ताको दुई पटक सञ्चालन हुने भएको हो । बिरामीहरूको बढ्दो चापलाई मध्यनजर गरी प्रत्येक हप्ताको शुक्रवार र मंगलवार गरी दुई पटक सञ्चालन गर्ने भएको छ ।
शिविरमा सहभागीहरूले प्राथमिक उपचार, रक्तचाप र रगतमा सुगरको परीक्षण, आँखा चेकजाँच, बालरोग, स्त्रीरोग, छाला रोग, हाडजोर्नी, प्लास्टिक सर्जरी, निःशुल्क स्वास्थ्य परामर्श सहित आवश्यक औषधिहरू प्राप्त गरिरहेका छन् । चु जी च्यारिटी फाउन्डेसनले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव बढाउँदै आइरहेको छ । श्रावण महिनाको मध्यमा २२ औँ हप्तामा प्रवेश गरेको सो शिविरबाट अहिलेसम्म दुई हजार भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिइसकेका छन् भने शिविरमा सहभागी बिरामीमध्ये करिब ३५ प्रतिशतले प्राप्त सेवाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन् । नियमित स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण र विशेषज्ञ डाक्टरहरूको परामर्शले ग्रामीण तथा शहरी दुबै क्षेत्रका बिरामीहरूमा सकारात्मक प्रभाव बढाउँदै आइरहेको छ । त्यसकारण पछिल्लो समय शिविरमा बिरामीहरूको चाप निरन्तर वृद्धि हुँदै गएपछि फाउन्डेसनले हप्ताको दुई दिन शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदेक्षा अनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म शिक्षा सहितको स्वास्थ्य सेवा पुर्याउँदै आइरहेको छ । निःशुल्क स्वास्थ्य शिविर केवल चिकित्सा सेवा मात्रै नभई सामाजिक परोपकारी र सबैमा समान सेवा पहुँच सुनिश्चित गर्ने प्रयास पनि रहेको छ । जसको माध्यमबाट बिरामीको उपचारसँगै शिक्षा सहितको सचेतना अभियान मार्फत दीर्घकालीन रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।