त्रि-दिवसीय महापर्याय पठ्ठानपाली पाठ सुरु।

img

काठमाडौं,
ऐतिहासिक स्वयम्भु महाचैत्य परिसर किमडोलमा अवस्थित निर्वाण मूर्ति विहारमा त्रि — दिवसीय महापर्याय पठ्ठानपाली पाठ सुरु भएको छ। निर्वाणमूर्ति विहार संरक्षण समितिका अध्यक्ष एवम् धर्मकीर्ति विहारका प्रमुख श्रद्धेय धम्मवती गुरुमाँको शुभ जन्मोत्सवको अवसरमा गुरुमाँको आयु आरोग्य एवम् दीर्घायुको कामना गरी विहारको धम्म कक्षमा पठ्ठान पालीपाठको आयोजना गरिएको हो। 
विगतका वर्षहरूदेखि नै श्रद्धेय धम्मवती गुरुमाँको शुभजन्मोत्सवको अवसरमा र श्रद्धेय रत्नमञ्जरी गुरुमाँको गुणानुस्मृतिमा किमडोल विहार परिवारद्वारा पठ्ठानपाली पाठ वाचन हुँदै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिने क्रममा यस वर्ष पनि विहारका प्रमुख द्वय श्रद्धेय डा। मोलिनी गुरुमाँ र श्रद्धेय डाक्टर धम्मविजया गुरुमाँको समुपस्थिति­mब बिहीवारदेखि पठ्ठानपाली पाठ सुरु गरिएको हो। विभिन्न विहारका श्रद्धेय गुरुमाँहरूको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय विमलज्ञानी गुरुमाँबाट पठ्ठानपाली पाठ बारे देशना भएको थियो। कार्यक्रममा श्रद्धेय मोदिता गुरुमाँ, श्रद्धेय सुधावती गुरुमाँ, श्रद्धेय खेमावती गुरुमाँ, श्रद्धेय केशवती गुरुमाँ, श्रद्धेय सुजाता गुरुमाँ सहित श्रद्धेय गुरुमाँहरूबाट क्रमैसंग पठ्ठानपाली पाठ गरिएको थियो।
श्रद्धावान उपासक उपासिकाहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको अन्त्यमा सर्वसत्त्व प्राणी पुण्यहेतु पुण्यानुमोदनका साथै दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो। विहारमा महापर्याय पठ्ठान पाली पाठ सुरु भएको दुई दशक पूरा भइसकेको छ। विक्रम सम्वत २०२० सालमा श्रद्धेय धम्मवती गुरुमाँ वर्माबाट धम्मचर्याको उच्च शिक्षा पूरा गरी नेपाल फर्किनुभएपछि धर्मकीर्ति विहारको स्थापना र धर्मदेशनाको सुरुवातसंगै पठ्ठानपालीको चर्चा एवम् सो पाठ प्रारम्भ भएको थियो।