काठमाडौं,
नेवाः बौद्ध समुदायमा महत्वपूर्ण मानिने गुँला पर्वको अवसरमा विभिन्न स्थानमा रहेका विहार एवम् चैत्यहरूमा भगवान् बुद्धका विविध विषयमा गुँला पर्व विशेष धर्मदेशना कार्यक्रम भैरहेको छ । यसैक्रममा श्रद्धेय भिक्षु कोण्डञ्य महास्थविर प्रमुख रहनु भएको बुद्ध विहारमा गुँला पर्व विशेष धर्मदेशना जारी छ ।
गुँला पर्वको छैठौँ दिन आनन्दकुटि विहारका अध्यक्ष श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरद्वारा धर्मदेशना भएको छ ।धर्मदेशना दिनु पूर्व कार्यक्रममा श्रद्धेय भिक्षु सद्धिकोबाट बुद्ध पूजा भएको थियो भने विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्य महास्थविरबाट शील प्रदान भएको थियो ।यसैगरी नगरमण्ड स्थित श्रीकीर्ति विहारमा विहार परिवारद्वारा आयोजित वर्षावास धर्मदेशना जारी छ । सो क्रममा मंगलवार श्रद्धेय भिक्षु गवेशकबाट बुद्ध पूजा भएर चित्तको बारेमा देशना भएको थियो । यस्तै गुँला पर्वको अवसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल स्वयम्भू महाचैत्यमा आयोजित चैत्य व्रत र पूजा जारी छ ।
गुँला पर्वको अवसरमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा उपासिकाहरू चैत्य व्रत बसी प्रत्येक दिन गुरुज्यूबाट भगवान् बुद्ध र हारती अजिमाँको फरक-फरक विषयमा देशना श्रवण गरिरहेका छन् । गुँला पर्वको मुख्य उद्देश्य बौद्ध धर्मका अनुयायीहरूको चित्त शुद्धि, धार्मिक आस्था बलियो बनाउनु र पुण्य कमाउनु हो । यस पर्वले भगवान् बुद्धका शिक्षाहरूलाई पुनःजीवित गरेर धार्मिक आस्था बलियो बनाउने काम गर्दछ ।