काठमाडौं,
ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल स्वयम्भू महाचैत्यमा आयोजित चैत्य व्रत र पूजा जारी छ। गुँला पर्वको अवसरमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा उपासिकाहरू चैत्य व्रत बसी प्रत्येक दिन गुरुजुबाट भगवान बुद्ध र हारती अजिमाको फरक–फरक विषयमा देशना श्रवण गरिरहेका छन्।
गुँला पर्वको मुख्य उद्देश्य बौद्ध धर्मका अनुयायीहरूको चित्त शुद्धि, धार्मिक आस्था बलियो बनाउनु र पुण्य कमाउनु हो। यस पर्वले भगवान बुद्धका शिक्षाहरूलाई पुनःजीवित गरेर धार्मिक आस्था बलियो बनाउने काम गर्दछ। यसैगरी गुँला पर्वको अवसरमा कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारमा आयोजित वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ। सो कार्यक्रम अन्तर्गत सोमबार श्रद्धेय भिक्षु सोरत महास्थविरद्वारा मज्ज्झिम निकायको धनञ्जानी सुत्तबारे धर्मदेशना गरिएको थियो। श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको अन्त्यमा सर्वसत्त्व प्राणीको पुण्य हेतुले पुण्यानुमोदनका साथै दानप्रदान गरी कार्यक्रम समापन गरिएको थियो।
यस पर्वले भगवान बुद्धका शिक्षाहरूलाई पुनःजीवित गरेर धार्मिक आस्था बलियो बनाउने काम गर्दछ। गुँला पर्व अवधिभर भगवान बुद्धको शिक्षा प्रचार–प्रसार गर्न र धर्मपालनाको परम्परालाई पुनः जागृत गर्न विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने अनुसार विहार एवम् चैत्यहरूमा विशेष धार्मिक अनुष्ठानहरू भईरहेका छन्।