लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा।

img

लुम्बिनी,
‘दीगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा लुम्बिनीमा सञ्चालन भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। 
गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ। विश्वका सङ्कटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दीगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना र दीगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थासँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ। गोष्ठीमा बुद्ध शिक्षा र विश्व कूटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिद्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा छलफल भएको थियो। प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवर्द्धन गर्ने, कूटनीतिज्ञका लागि ‘माइन्डफुलनेस’ आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ। जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरूको धारणा छ।
यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने, विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलमा एकीकृत शान्ति पर्यटनलाई प्रवर्द्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरूको निष्कर्ष छ। कार्यक्रममा ५८ जना विद्वानले विभिन्न एजेन्डामा रहेर छलफल गर्नुभएको थियो।