काठमाडौं,
दि शाक्य फाउन्डेसन र बोधि टेलिभिजनको सहकार्यमा आयोजित धम्मपद शिक्षा प्रवचन कार्यक्रम प्रसारण हुने भएको छ। दि शाक्य फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार बौद्ध विद्वान् देवकाजी शाक्यले बोधि टेलिभिजनमा प्रसारण हुन लागेको कार्यक्रम धम्मपद शिक्षामा उहाँको प्रवचन प्रसारण हुने भएको छ।
सो कार्यक्रममा बौद्ध विद्वान् शाक्यले धम्मपद शिक्षाको अर्थ, परिभाषा र सो शिक्षामा समावेश सूत्रहरूको सरल भाषामा व्याख्या गर्नुभएको छ। धम्मपद त्रिपिटक अन्तर्गत बुद्धका उपदेशहरूको सर्वाधिक ग्रन्थ सङ्कलनको एउटा महत्वपूर्ण पाटो हो। धम्मपद सूत्रपिटक भित्रको खुद्दक निकायमा समावेश गरिएको बुद्धको एक महत्वपूर्ण ग्रन्थ हो। यस त्रिपिटकमा चालीस वटा ग्रन्थमा उल्लेख गरिएको बुद्ध दर्शनलाई ४२३ वटा लयबद्ध रूपमा पाली पद्यमा समेटिएको छ। दि शाक्य फाउन्डेसन नेपालले आफ्नो स्थापनाकालदेखि परम्परागत संस्कृतिको जगेर्ना गर्न र सिपमूलक तालिम प्रदान गरी स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न सिपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको छ। बुद्ध धर्म शिक्षा र बुद्ध दर्शन समस्त जगतमा फैलाउने उद्देश्यले विक्रम संवत २०५७ मा सो फाउन्डेसनको स्थापना गरिएको हो।
नेपालको पहिलो र अग्रणी बौद्ध टेलिभिजन बोधि टेलिभिजन र दि शाक्य फाउन्डेसन नेपालको सहकार्यमा आयोजित कार्यक्रमको माध्यमबाट मुलुकमा सुशासन, शान्ति र समृद्धि स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। मानिसलाई नैतिकवान् बनाउनका लागि सहयोग पुग्ने धम्मपद शिक्षा कार्यक्रम बोधि टेलिभिजनबाट शीघ्र प्रसारण हुँदैछ।