बौद्ध उपासिका दिवङ्गत कृष्ण कुमारी शाक्यको २८औँ वार्षिक पुण्यतिथिको अवसरमा बुद्धपूजा सहित विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ। नगरमण्डप स्थित श्रीकीर्ति विहारमा मंगलवार ललितपुर लुखुँसी स्थित सुमंगल विहारका आजीवन सदस्य एवम् बौद्ध धर्म प्रति समर्पित रहनुभएका दिवङ्गत कृष्ण कुमारी शाक्यको २८ औँ वार्षिक पुण्यतिथिको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो।
सो अवसरमा विहारका आवासीय श्रद्धेय भिक्षु नन्द महास्थविरबाट शील प्रदान भई बुद्धपूजा भएको थियो भने श्रद्धेय भिक्षु भद्दिय महास्थविरबाट धर्मदेशना भएको थियो। धर्मदेशना पश्चात कार्यक्रममा बौद्ध विहार सङ्घका पूर्व अध्यक्ष, मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका निर्वतमान अध्यक्ष एवम् धर्मोदय सभाका सदस्य बौद्ध विज्ञ पुष्परत्न शाक्य सहित शाक्य स परिवारद्वारा भिक्षु महासङ्घलाई अष्टपरिष्कार दान, श्रद्धेय गुरुमालाई चिवरदान गरिएको थियो। यस्तै कार्यक्रममा नेपालमै पहिलो पटक बुद्ध धर्मका तीनवटै यानलाई समेटेर सरल र सहज भाषामा बौद्ध विज्ञ पुष्परत्न शाक्यद्वारा लेखित परित्राण पुस्तक पनि प्रकाशित गरिएको थियो।
सो पुस्तकमा पञ्चशील, अष्टशील, बुद्ध वन्दना ९पाली०, चेतिय वन्दना, पुण्यानुमोदन, मेत्ता भावना, मंगलसुत्त, रतनसुत्त सहित विभिन्न विषयवस्तुहरूको व्याख्या गरिएको छ। कार्यक्रममा दिवङ्गत बौद्ध उपासिका कृष्ण कुमारी शाक्य सहित दिवङ्गत ज्ञातिपरिवारको सुगति सहित निर्वाण कामना गरी परित्राण पाठको आयोजना गरिएको थियो। अन्त्यमा सर्व सत्त्वप्राणीको मंगल कामना गरी पुण्यानुमोदन एवम् दानप्रदान गरी कार्यक्रम समापन गरिएको थियो।