गुँला धर्मदेशना बुद्ध विहार र नगरमण्डप विहार र स्वयम्भू महाचैत्य।

img

 काठमाडौं,
ललितपुर स्थित सुमंगल विहारका श्रद्धेय भिक्षु डा। संकिच्च महास्थविरद्वारा धम्मपद गाथाबारे धर्मदेशना भएको छ । सोमवार श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा गुँला पर्व विशेष धर्मदेशना दिने क्रममा श्रद्धेय भिक्षु डा.संकिच्च महास्थविरले धम्मपद गाथा बारे देशना दिनुभएको हो ।
 सो अवसरमा श्रद्धेय भिक्षुले धम्मपदमा उल्लेखित उत्तानवत्तु सतिमतो गाथा वाचन गर्नुहुँदै उहाँले कुशल व्यक्ति बन्नको लागि आवश्यक कर्महरूबारे व्याख्या गर्नुभएको थियो । सो क्रममा श्रद्धेय भिक्षुले उद्यमी, मेहनती भएर स्मृतिपूर्वक काय, वाक् र चित्तलाई परिशुद्ध गराई कार्य गर्नुपर्ने बताउनुहुँदै धर्म र अधर्म के हो भन्ने विवेकवान भएर बस्नुपर्ने बताउनुभयो । धर्मदेशना दिनु पूर्व कार्यक्रममा श्रद्धेय भिक्षु सद्धिको बाट बुद्ध पूजा भएको थियो भने विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान भएको थियो । यसैगरी गुँला पर्वको अवसरमा कीर्तिपुर स्थित नगरमण्डप श्री कीर्ति विहारमा आयोजित वर्षावास विशेष धर्मदेशना कार्यक्रम जारी छ । सो कार्यक्रम अन्तर्गत आइतवार श्रद्धेय डाक्टर श्रद्धा गौतमी गुरुमांद्वारा शील प्रदानका साथै बुद्ध पूजा भएर अङ्गुत्तर निकाय अन्तर्गत सुमना सूत्रबारे धर्मदेशना भएको थियो । यस्तै गुँला पर्वको अवसरमा आयोजित स्वयम्भू चैत्य व्रत र पूजा जारी छ । एक महिने चैत्य व्रत र पूजा अन्तर्गत सोमबार पनि श्रद्धेय गुरुज्यु अशोक बुद्धाचार्यको मूलाचार्यमा चैत्य व्रत र पूजा गरिएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा उपासिकाहरू चैत्य व्रत बसी प्रत्येक दिन गुरुज्युबाट भगवान बुद्ध र हरती अजिमाँको फरक फरक विषयमा देशना श्रवण गरिरहेका छन् ।
गुँला पर्वको मुख्य उद्देश्य बौद्ध धर्मका अनुयायीहरूको चित्त शुद्धि, धार्मिक आस्था बलियो बनाउनु र पुण्य कमाउनु हो । यस पर्वले भगवान बुद्धका शिक्षाहरूलाई पुनःजीवित गरेर धार्मिक आस्था बलियो बनाउने काम गर्दछ । गुँला पर्व अवधिभर भगवान बुद्धको शिक्षा प्रचार–प्रसार गर्न र धर्मपालना गर्ने परम्परालाई पुनः जागृत गर्न विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने अनुसार विहार एवम् चैत्यहरूमा विशेष धार्मिक अनुष्ठानहरू भैरहेका छन् ।