काठमाडौं,
अभिधम्मपिटकमा समावेश ग्रन्थहरु मध्ये अति महत्वपूर्ण ग्रन्थ पठ्ठानपाली परिक्षामा उत्तीर्णलाई विशेष धार्मिक समारोहमार्फत् पुरस्कार वितरण गरिएको छ । सोमवार धर्मकीर्ति विहारको धम्मकक्षमा विशेष धार्मिक अनुष्ठानको आयोजना गरी पठ्ठानपाली परिक्षामा उत्तीर्ण प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । सो कार्यक्रममा प्रथम महिला राधिका शाक्यद्वारा पठ्ठानपाली परिक्षामा उत्तीर्ण ४३ जना प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रथम महिला राधिका शाक्यले श्रद्धेय धम्मवती गुरुमांले बौद्ध सासानिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । सो क्रममा उहाँले ९२ औं वर्षमा आइपुग्दासम्म पनि श्रद्धेय गुरुमांको त्याग र लगनशीलता उत्तिकै रहेको बताउनुहुँदै श्रद्धेय गुरुमां हामी सबैको लागि उदाहरणीय, प्रशंसनीय र सम्माननीय रहनुभएको बताउनुभयो । यसैगरी उहाँले श्रद्धेय गुरुमांले धर्मसँगसँगै महिला सशक्तिकरणका लागि पनि ठूलो योगदान पुर्याउनुभएको बताउनुहुँदै हामी सबैले आफ्नो जन्मलाई सार्थक बनाउनको लागि श्रद्धेय धम्मवती गुरुमांले देखाउनुभएको साहसको अनुशरण गरी असल मार्गमा हिँड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा विहार प्रमुख श्रद्धेय धम्मवती गुरुमांले उत्तीर्ण प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुहुँदै पुरस्कार वितरण गर्नको लागि सहयोग गर्नुहुने दाताहरुप्रति साधुवाद व्यक्त गर्नुभयो । सो क्रममा श्रद्धेय गुरुमांले भगवान बुद्धले देशना गर्नुभएको उपदेशलाई तीनवटा पिटकमा समावेश गरिएको त्रिपिटकमध्ये अभिधम्म पिटक अतिनै महत्वपूर्ण, गहन र कठिन रहेको बताउनुभयो ।
पूर्व शिक्षा, विज्ञान एवम् प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सभासदस्य कृष्ण गोपाल श्रेष्ठ, प्रथम महिला राधिका शाक्य, श्रद्धेय गुरुमांहरु सहित श्रद्धालुहरुको सहभागिता रहेको कार्यक्रममा पुरस्कार वितरण गर्नु पूर्व श्रद्धेय दानवती गुरुमांद्वारा जातक अट्टकथा अन्तर्गत कुद्दाल जातकबारे धर्मदेशना भएको थियो । पठ्ठानपाली पाठको विकास र विस्तार गर्ने उद्देश्यका साथ धर्मकीर्ति–धर्मप्रशिक्षण कार्यक्रम अन्तर्गत आगामी शनिवार स्वयम्भू महाचैत्यमा पठ्ठानपाली वाचन कार्यक्रम आयोजना गरिने भएको छ ।