बुद्ध शिक्षा अन्तर्राष्ट्रियस्तरमै शान्तिका लागि नयाँ आयाम : मुख्यमन्त्री आचार्य

img

लुम्बिनी, 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आवश्यक भएको बताउनुभएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले भगवान बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता अवलम्बन गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनुभएको हो ।
मन्त्री आचार्यले लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र भएकाले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व थप विस्तार हुने उल्लेख गर्नुभयो । यसैगरी उहाँले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा। तिलक आचार्यले स्वागत गर्दै बौद्ध कूटनीति विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनारमार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले सो कार्यक्रममा भगवान बुद्धका शिक्षा मार्फत संसारभर कसरी शान्ति फैलाउन सकिन्छ भन्नेबारे छलफल गरिएको बताउनुभयो । यस्तै उहाँले सो कार्यक्रम मार्फत ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलन जस्ता विविध कार्यक्रहरुलाई अगाडि बढाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, संस्कृत विश्वविद्यालय, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपतिहरु, पूर्वराजदूतहरू लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा। मणिकरत्न शाक्य लगायतले विश्वशान्तिका लागि बुद्ध कूटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभएको थियो । सो कार्यक्रममा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमांहरु तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ ।