श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको २४औं स्मरण सभाको अवसरमा विविध कार्यक्रमको आयोजना।

img

काठमाडौं,
नगरमण्डप श्रीकीर्ति विहारका संस्थापक श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको २४औं स्मरण सभाको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । शनिबार नगरमण्डप श्रीकीर्ति विहार परिवारद्वारा आयोजित कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर सहित विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, विहारका आवासीय श्रद्धेय भिक्षुहरू, श्रद्धेय मिना गुरुमां सहित विहारका आवासीय गुरुमांहरू लगायत श्रद्धालुहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा श्रद्धेय भिक्षुहरूबाट शील प्रदानका साथै बुद्ध पूजा गरिएको थियो । तत्पश्चात विहारका संस्थापक श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको २४औं स्मरण सभा र सोही विहारका परियक्ति केन्द्रबाट बुद्ध सम्वत २५६८ को नेपाल बौद्ध परियक्ति शिक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण र श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको प्रतिमा निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको हो । बुद्ध सम्वत २५६८ को नेपाल बौद्ध परियक्ति शिक्षामा सो विहारबाट उत्तीर्ण भएका ११८ विद्यार्थीहरूलाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको हो । यस्तै कार्यक्रममा विहारका संस्थापक दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको प्रतिमा निर्माणमा सहयोग गर्ने ३८ दाताहरुलाई सम्मान गरिएको हो । सो विहारमा परियक्ति शिक्षा सञ्चालन हुँदै आएको ४७ वर्ष भईसकेको छ । दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरले सुरुवात गर्नुभएको परियक्ति कक्षा अहिले सम्म निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रत्येक वर्ष पुरस्कार वितरण गर्नको लागि नगरपालिकाबाट पनि सहयोग हुँदै आएको हुनाले पुरस्कार वितरणमा टेवा पुगेको छ । सो विहारबाट सञ्चालन भएको परियक्ति परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रत्येक वर्ष दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरको पुण्य तिथीमा पुरस्कार वितरण गर्दै आइरहेको थियो । 
तर यस वर्ष परीक्षामा सहभागी विद्यार्थीहरूको संख्या वृद्धि भएकाले आइतवार सो कार्यक्रमको आयोजना गरिएको हो । दिवंगत श्रद्धेय भिक्षु सुदर्शन महास्थविरले सन् १९७५ मा नेपालको ऐतिहासिक नगर कीर्तिपुरमा नगरमण्डप श्रीकीर्ति विहार स्थापना गर्नुभएको थियो । विक्रम संवत १९३८ मा ललितपुरको ओकु बाहलमा जन्मनुभएका भिक्षुले श्रद्धेय भिक्षु प्रज्ञानन्द महास्थविरबाट उपसम्पदा प्राप्त गर्नुभएको थियो । दिवंगत भिक्षुको नेपालमा थेरवाद बौद्ध धर्म र नेपाल भाषाको साहित्य विकासमा महत्वपूर्ण भूमिका रहेको छ ।