चक्रेश्वर आजु बुद्धिराज बज्राचार्यको गुणानुस्मरणमा श्रद्धाञ्जली सभाको आयोजना।

img

काठमाडौं,
बौद्ध विहार संघ ललितपुरका संस्थापक समाजसेवी, पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख चक्रेश्वर आजु बुद्धिराज बज्राचार्यको गुणानुस्मरणमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । ललितपुरमा अवस्थित यशोधरा महाविहार परिसरमा आइतवार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । आधुनिक ललितपुरको जग बसाल्नुहुने दिवंगत बुद्धिराज बज्राचार्यको श्रद्धाञ्जली सभाका वक्ताहरूले उहाँको योगदानलाई भावी पुस्ताका लागि स्मरणीय बनाइराख्न ठोस काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
बौद्ध विहारको संयोजनमा ललितपुरका २७ वटा संघसंस्थाले आइतबार उहाँको जन्मस्थल यशोधरा महाविहार बुभालमा आयोजित सभामा उहाँहरूले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शोक वक्तव्य पनि वाचन गरिएको थियो । सभामा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धिराज बज्राचार्य एक राजनीतिकर्मी भएपनि व्यक्तित्वको मुख्य पक्ष भने सामाजिक तथा सांस्कृतिक र सम्पदा जोगाउने प्रतिबद्ध व्यक्तिका रूपमा रहेको धारणा राख्नुभयो । यस्तै सभामा शिक्षामन्त्री रघुजी पन्त, वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, ललितपुर क्षेत्र नं २ का संघीय सांसद् प्रेमबहादुर महर्जन, वाग्मती प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यले दिवंगत बुद्धिराज बज्राचार्यको जीवनीबारे चर्चा गर्नुभएको थियो ।
सो क्रममा उहाँहरूले दिवंगत बज्राचार्यलाई ललितपुरको कला, संस्कृति र सम्पदा संरक्षकका रूपमा एक धरोहर रहेको बताउँदै उहाँको योगदानलाई चिरकालसम्म सम्झिरहने वातावरण तयार गर्न सालिक बनाउनुपर्ने सुझाव दिनुभएको थियो । यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पञ्चायतकालमा आफू दुई पटक वडाअध्यक्ष हुँदा बज्राचार्य प्रधानपञ्च रहेको र उहाँसँगै काम गरेर आफ्नो राजनीतिक करियरको आधारशीला तयार भएको बताउनुभयो । यसैगरी उहाँले बज्राचार्यको जीवनी सम्बन्धी पुस्तक ललितपुर महानगरपालिकाले प्रकाशित गरिदिने पनि आश्वासन व्यक्त गर्नुभयो । सो अवसरमा २७ वटा संघसंस्थाले संयुक्त रूपमा तयार पारेको समवेदनापत्र बज्राचार्यका परिवारलाई प्रदान गरिएको थियो । सभामा बौद्ध विहार संघका अध्यक्ष करुणारत्न बज्राचार्यले बुद्धिराज बज्राचार्य एक बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । 
कार्यक्रममा ललितपुर विकासका लागि समाजका अध्यक्ष विकासरत्न धाख्वाले बज्राचार्यको सक्रियतामा पुनर्निर्माण भएको सम्पदाको विषयमा जानकारी दिनुभयो । श्रद्धाञ्जली सभामा सबै बौद्ध परम्पराअनुसार श्रद्धेय भिक्षु, श्रद्धेय लामा गुरु र श्रद्धेय बज्राचार्य गुरुजुहरूबाट पाठ गरिएको थियो । विक्रम संवत १९९३ श्रावण २७ गते जन्मनुभएका बुद्धिराज बज्राचार्यको विक्रम संवत २०८२ श्रावण २ गते ८९ औं वर्षको उमेरमा देहावसान भएको थियो । बोधि टेलिभिजन परिवार दिवंगत चक्रेश्वर आजु बुद्धिराज बज्राचार्यको सुगति सहित निर्वाण कामना गर्दछ ।